काठमाडौं– नेकपा नेता योगेश भट्टराईलाई मन्त्रीमण्डलमा सहभागी गराइने भएको छ।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए। बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको उनले ट्विटरमा समेत उल्लेख गरेका छन्।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए। अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाएको हो।
भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई पराजित गरेका थिए। भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरेका थिए भने दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए।
०६४ र ०७० सालको दुवै संविधानसभाको चुनावमा उनी काठमाडौंबाट पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।