काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपा नेपालले बुधबार पनि अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेललगायतको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राख्दै नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो। अर्को बैठक साउन १६ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।
अघिल्लो बैठकमा जस्तै बुधबारको बैठक पनि कांग्रेस र राजपाका सांसदहरुले अवरोध गरेका थिए।
उनीहरुले संसदीय सर्वोच्चता कामय गर्न, कुमार पौडेल प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न, निर्मला पन्तका अपराधी पत्ता लगाउन माग गर्दै असार २४ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन्।
सभामुखले पटक-पटक आसन ग्रहण गर्न अनुरोध गरे पनि दुवै पार्टीका सांसदहरुले अवरोध जारी राखेका थिए।
सभामुखले सांसदहरुले उठाएका विषय सरकार समक्ष पुर्याउन र समाधान गर्न पनि सदन चल्नुको विकल्प नभएकाले अवरोध अन्त्य गर्न अनुरोध गरेका थिए।
सभामा अवरोध ५४ मिनेटसम्म जारी रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।