भक्तपुर- नेपाली कांग्रेसलाई देशभर बलियो बनाउन पार्टीका जिल्ला सभापतिहरुले छलफल सुरु गरेका छन्।
कांग्रेसको प्रदेश नम्बर ३ का जिल्ला सभापतिहरुले भक्तपुरमा छलफल गर्दै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समीक्षा गर्दै पार्टीलाई बलियो बनाउनेबारे विमर्श गरेको कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए।
'तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै निर्वाचनमा पार्टीको कहाँ-कहाँ के कमजोरी भए, कमजोरीलाई कसरी सुधार्दै लैजाने, संगठन र पार्टीलाई कसरी बलियो तथा मजबुत बनाउने भन्नेबारेमा छलफल भएको हो', थापाले भने।
जिल्ला सभापति वा पार्टीका कुनै गुट वा उपगुटको भेला नभई पार्टीलाई बलियो बनाउनेबारे जिल्ला सभापतिको छलफल भएको उनको भनाइ थियो।
छलफलमा सभापतिहरु भक्तपुरका दुर्लभ थापा, काठमाडौंका सबुज बानियाँ, रसुवाका पेम्बा छिरिङ, मकवानपुरका इन्द्र बानियाँ, सिन्धुलीका उज्ज्वल बराल, रामेछापका लवश्री न्यौपाने, दोलखाका रुद्रबहादुर खड्का, सिन्धुपाल्चोकका विकास लामा, नुवाकोटका जगदीशनरसिंह केसी र काभ्रेका मधु आचार्यको सहभागिता थियो।
ललितपुरका सभापति क्यानडामा रहेको तथा चितवन र खोटाङका जिल्ला सभापति भने व्यस्तताका कारण छलफलमा सहभागी नभएको बताइएको छ।
यही माघ ७ गते खोटाङ हलेसीमा देशभरका सम्भव भएसम्मका कांग्रेस जिल्ला सभापतिहरु सहभागी भएर पार्टीलाई बलियो बनाएर लैजानेबारेमा छलफल गर्ने र यस्ता छलफललाई निरन्तरता दिनेबारे जिल्ला सभापतिबीच सहमति भएको भक्तपुर सभापति थापाले जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।