काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबारदेखि थप कार्यसूचीमा छलफल हुने भएको छ।
पार्टीको विधान र आगामी अधिवेशनलगायतमा छलफलपछि कांग्रेसको केन्द्रीय समितिको बैठकमा जागरण अभियानको प्रतिवेदन र अनुशासन समितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
यसबाहेक विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल हुने पार्टी कार्यालयले जनाएको छ। गत असार २२ गतेबाट सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए।
यसअघि बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन्।
पछिल्ला बैठकहरुमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको थियो।
बैठकमा मंगलबारसम्म करीब ५ दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसकेका छन्। सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए।
करीब डेढ वर्षपछि १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरेका थिए।
केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस/फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।