चितवन- रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो पनि सवारी रोकेर काम गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसो कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो।
अब बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिनेछ।
गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ। बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेर काम गरिँदै आएको छ। दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिनेछ।
गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो। त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए। यसअघि परीक्षणका रुपमा राति सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो।
रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घन्टौं लाग्ने गरेको छ। जसका कारण दिनको काम पनि प्रभावित भएको छ।
आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए। उनले राति रोक्दा शून्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शून्य दशमलव २७ प्रतिशत काम भएको बताए। 'रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो। जसले गर्दा प्रगतिमा ४ गुणा कमी आयो,' उनले भने।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताए।
बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेश गर्न पनि भनेको छ।
सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ। घुमाउनेमा २ सय मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ।
हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।