काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ।
आयोगले नेकपा एमालेलाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा, संघीय समाजवादी फोरम नेपाललाई हातले समातेको मसाल र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता चिह्न प्रदान गरेको हो।
बस नेपाल संघीय समाजवादी पार्टीले, मादल नेपाल मजदूर किसान पार्टीले, दापसहितको खुकुरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले, जग बहुजन शक्ति पार्टीले प्राप्त गर्दा नेपाल परिवार दललाई साँचो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल नौलो जनवादी पार्टीलाई चुच्चोले चिट्ठी बोकेको परेवा चिह्न दिइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गोलाकारभित्र हलो, विवेकशील साझा तराजु, नयाँ शक्ति पार्टी नेपाल देब्रे आँखा, नेपाल दलित पार्टी इनार, राष्ट्रिय प्रजातन्त्र पार्टी गाई, बहुजन समाज पार्टी नेपाल जिराफ, गान्धीवादी पार्टी नेपाल भेडा, नेपाली जनता दल गोरुगाडाको चक्का पाङग्रो र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार षट्कोण चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २४ गते हुँदैछ। उक्त निर्वाचनमा २ हजार ५६ जना मतदाताले भाग लिनेछन्। राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने संवैधानिक प्रावधान छ।
राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट ८ जनाको दरले सदस्यको छनोट हुनेछ। कूल ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।