मुम्बई (एजेन्सी)– गोवा फिल्म फेस्टिभलमा दुई वटा फिल्मको विषयमा ठूलो विवाद भएको थियो। जसका कारण जुरी प्रमुख सुजाय घोषले पदबाटै राजीनामा दिएका थिए। फेस्टिभलमा ‘सेक्सी दुर्गा’ र ‘न्युड’ लाई सूचना तथा प्रसारण मन्त्रालयले सूचीबाट हटाएपछि घोषले राजीनामा गरेका थिए।
तर, ‘न्युड’ का लागि अहिले राम्रो खबर बाहिर आएको छ। सेन्सर बोर्डले यो फिल्मलाई ‘ए’ सर्टिफिकेट दिएर प्रदर्शनका लागि योग्य बताएको छ। फिल्मका निर्देशक रवि जाधवले आफ्नो ट्विटरबाट यसको जानकारी दिएका हुन्।
उनले सेन्सर बोर्डको निर्णयप्रति खुसी व्यक्त गर्दै ट्विट गरेका छन्- ‘कुनै काँटछाँटबिना ‘ए’ सर्टिफिकेट! विद्या बालनको नेतृत्वमा रहेको विशेष जुरीले हामीलाई स्वीकार गरेको छ! सहयोगका लागि धन्यवाद।’
‘न्युड’ मराठी फिल्म हो। जसमा एक न्युड मोडलको जीवन दर्शाइएको छ। फिल्मको ट्रेलर पनि रिलिज भइसकेको छ। जसमा नसिरुद्दीन शाहको एउटा संवाद निकै दमदार छ, ‘छोरा! कपडा शरीर ढाक्न लगाइन्छ, आत्मालाई होइन। म काममा आत्मा खोज्ने प्रयास गर्छु। केही सम्झियौ?’
अहिले बलिउडमा क्षेत्रीय फिल्मको प्रयोग अधिक बढेको छ। जसलाई रुचाइएको पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।