काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
आयोग प्राङ्गणमा शुक्रबार आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रमाणपत्र प्रदान गरे।
प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो। समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन्।
निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका थिए। प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए।
त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका ४, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ।
५ सय ५० सदस्यीय प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैँजू छिन् भने सबैभन्दा बढी उम्मेरका नेपाली कांग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका रहेका छन्।
समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।