खोटाङ- वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन्।
काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही ७५ हजार रुपैयाँका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले स्वदेश फर्कनसमेत रोकेपछि बिचल्लीमा परेका हुन्।
टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेशनल कम्पनी पुगेका उनीहरुले खाना खाने रकमसमेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको बताएका छन्। कम्पनीले हाललाई काम दिन नसकेपनि केही दिनपछि काम गर्ने वातावरण बन्ने भन्दै घर फर्कनसमेत रोकिरहेको पीडित धनकुमार राईले दुखेसो पोखे।
राईले सेटलाइट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि सुरुमा नेपालको मेनपावरले आफूहरुलाई जानकारी दिएको भन्दा अप्ठ्यारो हुने बताएका छन्। कम्पनी टाट पल्टिएकाले काम दिन सक्ने अवस्था नरहेको आफूले बुझेको उनले बताए ।
बिचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुविधा नदिने कम्पनीले बताएको छ। हाल बसेको तथा खाएको रकम कम्पनीले काम शुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितले बताएका छन् ।
ऋण लिएर कतार गएका दुवै युवाले विचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन्। सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेका छन्।
अरुण र धनकुमारसँगै उक्त कम्पनीमा पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टीकापुरका नन्दसिङ साउदसमेत विचल्लीमा परेका छन्। वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपिसमेत कामदारसँग नभएको पाइएको परामर्शकर्ता अम्बिका दाहालले बताइन्।
उद्धारको पहल गरिदिनका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ। पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई निःशुल्क कानूनी पैरवीको काम गर्छ।
आफ्नो मेनपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेका मेनपावर निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर फर्किएको धनकुमारले आरोप लगाए।
'खाना खाने रकमसमेत नभएपछि कम्पनीले दिएको पैसा श्यामले आफैँ लिएर नेपाल फर्के। उनले भने, “अहिले कतारमै रहेका नेपाली साथीले दिएको केही रकमले श्वास अल्झाउने काम भइरहेको छ।'
कामदारका लागि स्वयं मेनपावरको निर्देशक श्याममार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५ सय रियल उपलब्ध गराए पनि बदमासी गरेको कम्पनीका मालिकले जानकारी दिएको परामर्शकर्ता दाहालले बताइन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।