काठमाडौं– कमजोर भौतिक संरचना र सुरक्षा संयन्त्रका कारण कैदीहरु जेलबाट सजिलै भाग्न थालेका छन्।
दुई महिनाअघि केन्द्रीय कारागार सुन्धाराको छतबाटै एक कैदी भागेका थिए। बिहीबार राति फेरि अर्का कैदी जेलबाट भागेका छन्।
चोरी मुद्दामा जेल परेका टीकाबहादुर थापा मगर बिहीबार राति करिब ८ बजे डिल्लीबजार जेलबाट फरार भए। जेलको उत्तरतर्फको काँडेतार काटेर उनी भागेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले बताए।
उनीसँगै भाग्न खोज्ने क्रममा अर्का कैदी भूपाल थापा मगर पक्राउ परेका छन्। घटनाको प्रहरीको समेत कमजोरी हुन सक्ने केहीलाई सोधपुछ गरी सुरु गरिएको छ।
गत मंसिर ४ गते केन्द्रीय कारागारमा रहेको प्रहरी ब्यारेककै छतबाट कैदी पन्नबहादुर शाही भागेका थिए। उनी हालसम्म पनि पक्राउ परेका छैनन्। जेलहरुको कमजोर भौतिक संरचनाकै कारण सुरक्षा बलियो हुन नसकेको कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे बताउँछन्।
राजधानीमा तीनै वटा जेल पुराना भवनमा छन्। जसकारण सुरक्षा व्यवस्था चुस्त बनाउन नसकिएको प्रहरी अधिकारीहरु बताउँछन्।
केन्द्रीय कारागारबाट कैदी भागेको घटनाको छानबिनका गठन भएको समितिले पनि कारागारको पुरानो संरचना नै प्रमुख कारणका रुपमा औंल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।