भैरहवा– स्थापनाको २५ वर्ष मनाइरहेको सांगीतिक समूह नेपथ्य बिहीबार भैरहवाको पक्लिहवा हाइस्कुल प्रांगणमा प्रस्तुत भएको छ।
‘पोखरा र पोखरेलीहरु जसरी भैरहवासँग जोडिएका छन्। नेपथ्य पनि उसैगरी जोडिएको छ,’ कन्सर्टको अघिल्लो साँझ मात्र यहाँका आमा समूहले गरेको स्वागत कार्यक्रमबाट फर्केपछि नेपथ्यका मुख्य गायक अमृत गुरुङ भनिरहेका थिए, ‘मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्याण्डका गितारवादक निरज गुरुङको थलो हो।’
अन्यत्रझैँ यहाँ पनि प्रारम्भ म्युजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो। त्यसको लगत्तै नेपथ्य टोली मञ्चमा प्रवेश गरेको थियो। ब्याण्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत ‘कुरुप अनुहार हो’ प्रस्तुत गरेको थियो। त्यसपछि सोनाम ल्होसारको मुडलाई आवाज दिँदै ‘भेडाको ऊनजस्तो’ सुनाउँदा मैदानभरिका तन्नेरीहरु उफ्रिरहेका देखिन्थे। ‘रेशम’, ‘तालको पानी’ जस्ता गीतमा पनि उनीहरु चुप बसेनन्।
‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत र श्रोतादर्शक ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए। अन्त्यमा ‘रातो र चन्द्रसूर्य’ सुनाएर कार्यक्रमको बिट मारिएको थियो।
मुख्य गायक अमृतलाई यसपटक पनि ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
भैरहवाको कार्यक्रमलाई स्थानीय ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले आयोजना गरेको थियो। पूर्वी नेपालको झापाबाट सुरु भएको यसपटकको नेपथ्य यात्रा पश्चिम भैरहवामा पुगेर टुंगिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।