काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपाेतका कर्मचारीलाई सेवाग्राहीले घुस्याहा बनाएको बताएकी छिन्। मालपाेत कार्यालयहरुकाे सेवा प्रवाहमा उठिरहेका बेथितिबारे प्रश्नमा सेवाग्राही पनि कहीँ न कहीँ दोषी रहेको उनले प्रतिक्रिया थियो।
सेवा प्रवाहका लागि प्रविधिमा जोड दिएकाे बताउँदै उनले भनिन्, 'दोष कर्मचारीमा मात्रै छैनन्। सेवाग्राहीका कारण समेत समस्या उत्पन्न भएका छन्। हामी (सेवाग्राही) मा धैर्य गर्ने क्षमता छैन। आफ्नो काम चाँडो गराउन खुसुखुसु गर्छौं। हामीले नदिए कसले खान्छ घुस? बरु ढिलै होस् तर घुस दिन्नँ भनेर संकल्प गराैं न। नियतबस ढिलो गर्यो भने उजुरी गर्नुहोस्।'
यसो भनिरहँदा घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गर्न खोजेको नबुझ्न आग्रह गरिन्। संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुन्डिन तयार रहेको उनले बतााइन्। मालपोत कार्यालयहरुका बारेमा गएको नकारात्मक सन्देशका कारण राम्रा कर्मचारी आउनै नमानेको उनको भनाइ थियो।
सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उनले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गरिन्। सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई नै घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो छ।
मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागिपरेको बताइन्।
उनले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको बताइन्। त्यसैका नतिजाका रुपमा आधुनिक प्रविधियुक्त मालपोत कार्यालय बनाइरहेको जानकारी गराइन्।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई सचेत गराए। उनले कानुन तथा पूर्वाधारको अभावमा केही समस्या भए पनि विस्तारै सेवाग्राहीहरुको सेवा प्रभावको कामलाई प्रभावकारी बनाउन सरकार लागिपरेको पनि बताए।
साँखु मालपोत कार्यालयको सेवालाई सहज बनाउन सरकारले इन्टरनेट सेवाको पनि शुभारम्भ गरेको हो। यसअघि कलंकीस्थित मालपोत कार्यालयलाई पनि प्रविधिले युक्त नमुना मालपोत कार्यालयको रुपमा घोषणा गरिएको थियो।
६२ वटा कार्यालयमा श्रेस्तालाई स्क्यानिङ गरेर २५ वटा कार्यालयमा भूसेवा केन्द्र स्थापना गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।