धादिङ- दुर्घटनाको न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक भएको भन्दै कुरा गर्ने मात्र नभई काम गरेर देखाउने प्रतिबद्धतासहित धादिङ घाटबेँसीमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी छलफल बिहीबार सकिएको छ।
ठूला दुर्घटना भइरहेको अवस्थामा गजुरी गाउँपालिकाको आयोजना र नेपाल अटो मोबाइल्स एसोसिएसनको सहयोगमा सञ्चालित कार्यक्रममा जिल्लाका सरोकारवाला, राजमार्ग क्षेत्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहितले आवश्यक रणनीति बनाएर दुर्घटनामा कमी ल्याउन लागिपर्ने प्रतिबद्धता जनाएका हुन्।
२०२४ सालमा खनिएको सडक हाल सवारी चापका कारण धान्न नसक्ने अवस्थामा पुगेको, ठूला सवारीसाधनका कारण राजमार्ग भत्किरहेको र अव्यवस्थित बालुवा प्रशोधन उद्योगले सडकलाई क्षतविक्षत पारेको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताए। यस्तो कार्य तत्काल रोक्न उनले स्थानीय तहको सरकारले गुरुयोजना बनाएर लागिपर्ने अवस्था आएकोतर्फ ध्यानआकृष्ट गराए।
हालका दिनमा सडक दुर्घटना मानिसको मृत्युको आठौँ कारण भएकाले आगामी २०३० सम्म पुग्दा तेस्रो कारण बन्न सक्ने देखिएको नेपाल अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष गोविन्द भट्टराईले तर्क गरे। सबैको इच्छाशक्तिका कारण मात्र दुर्घटना कम गर्न सकिने बताउँदै उनले त्यस्ता हरेक कार्यमा आफ्नो सहभागिता रहने बताए।
अध्यक्ष भट्टराईले विगत २० वर्षको तथ्यांक हेर्ने हो भने ६२ हजार मानिस गम्भीर किसिमको अंगभंग भएर बसिरहेकाले पनि राजमार्ग र यात्रुको सुरक्षा योजनाअनुसार काम गर्नुपर्नेमा जोड दिए।
धादिङको गजुरीबाट नागढुंगासम्मको क्षेत्रमा बालुवाका कारण राजमार्ग तहसनहस भएको ट्राफिक इञ्जिनियर आशिष गजुरेलले आरोप लगाए। बालुवा बोकेका ट्रक राजमार्गमा पानी चुहाउँदै गुडाउँदा ७० जिल्लाका मानिस आवतजावत गर्ने राष्ट्रिय राजमार्ग बिग्रिएको जनाउँर्द उनले अव यसको स्तरोन्नति गर्न जरुरी भइसकेको दावि गरे।
चितवनको इच्छाकामना गाउँपालिकासमेतको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका र नगरपालिकाले हरेक गाउँपालिका क्षेत्रमा सुरक्षा अधिकारीसहितको रेस्क्यु सेन्टर राख्ने, त्यसलाई तालीमसहितको व्यवस्थापन गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, ठूला सवारी र ट्रिपर गुड्दा तथा सडकमा झरेको बालुवाका कारण राजमार्ग तहसनहस भएकाले सो नियन्त्रण गर्ने, राष्ट्रिय राजमार्गको दायाँबायाँ क्षेत्र खाली गर्ने, बजारलगायतका स्थानमा पैदलमार्ग बनाउने, सडकनजिकै रहेका घरटहरा हटाउने लगायतका प्रतिबद्धता गरिएको छ।
कार्यक्रममा हालै निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी, प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी उपरीक्षक ध्रुवराज राउत, सबै सुरक्षा अंगका प्रमुख, राजमार्गसँग जोडिएका स्थानीय तहका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।