काठमाडौ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आर्थिक वर्ष २०७५/०७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल भएको दाबी गरेका छन्।
सोमबार मन्त्रालयमा गत आर्थिक वर्षको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभूत रुपमा सफल भएका छौं, अहिले देखिएका कमीकमजोरी सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ।’
सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औं आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका कामकारबाही र योजना बनाउन गृह मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको उनले बताए।
गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभुति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गरे।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतका वर्षहरुकोे तुलनामा गत आर्थिक २०७५/०७६ मा गृहका कामकारबाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा काम सक्ने परिपाटीको अन्त्य नभएको बताए।
उनले भने, ‘जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै काम सक्ने अवस्थाको निरन्तरता अझै देखियो। अब गृह अन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनौट गरिसक्ने, दोस्रो चौमासिकमा काम सुरु गरीसक्ने गरी योजना बनाउनुहोला।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुसी व्यक्त गरे।
बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।