सुर्खेत– प्रदेश ६ का लागि आवश्यक प्रादेशिक संरचना निर्माण, व्यवस्थापन र मर्मतका लागि ३३ करोड रुपैयाँ लाग्ने भएको छ। प्रादेशिक संरचना पूर्वतयारी कार्यदलले आवश्यक सबै भवन व्यवस्थापनका लागि ३३ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ।
मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशवप्रसाद उपाध्यायले प्रादेशिक संरचना निर्माणका लागि आवश्यक बजेट सरकारसमक्ष प्रस्ताव गरिएको जानकारी दिए। उनले भने, ‘हामीले प्रदेश प्रमुखको कार्यालयका लागि आवश्यक तयारी सुरु गरिसक्यौं, कार्यालय, बैठक कक्ष र निवास मर्मत र सिँगारको काम सुरु भएको छ। सबै संरचना मर्मत र व्यवस्थानका लागि आवश्यक ३३ करोड बजेट प्रस्ताव गरिएको छ ।’
त्यसैगरी, प्रदेश प्रमुखको कार्यालय, निवास र प्रदेश सचिवको कार्यालयका लागि ३ करोड, प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयका लागि ३ करोड, मुख्यमन्त्रीको निवासका लागि १ करोड ५० लाख; प्रमुख सचिवको निवासका लागि ५० लाख; प्रदेश गृहमन्त्रालयका लागि २ करोड; प्रदेश अर्थ मन्त्रालयका लागि २ करोड; प्रदेश कृषि, सहकारी, पशुसेवा तथा भूमि व्यवस्थापन मन्त्रालयका लागि २ करोड; प्रदेश पूर्वाधार विकास मन्त्रालयका लागि २ करोड; प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालयका लागि १ करोड ५० लाख; प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय व्यवस्थापनका लागि १ करोड ५० लाख खर्च लाग्ने जनाइएको छ।
यस्तै, प्रदेश मन्त्रीहरुको निवासका लागि २ करोड, मन्त्रालयमा रहने विशिष्ट कर्मचारीहरुको निवासका लागि २ करोड, सुरक्षा व्यवस्थापनका लागि १ करोड, कर्मचारी स्टोर लगायत अन्य कामका लागि थप १ करोड गरी जम्मा ३३ करोड रुपैयाँ प्रस्ताव गरिएको कार्यदलले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।