काठमाडौं- न्याय परिषद्ले उच्च अदालत पाटन, सुर्खेत र तुल्सीपुरका मुख्य न्यायाधीशको सरुवा गरेको छ।
केही दिन पहिले मात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च र जिल्ला अदालतका २ सय न्यायाधीशको सरुवा गरेका थिए। त्यसको केही समयमै उनले तीन वटा उच्च अदालतका मुख्य न्यायाधीशको सरुवा गरेका हुन्।
परिषद्ले ललितपुर उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाललाई सुर्खेत सरुवा गरेको छ। सुर्खेत उच्च अदालतमा रहेका मुख्य न्यायाधीश रमेश पोखरेललाई तुल्सीपुरमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालतका कार्यरत मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनमा सरुवा गरेको छ।
राजश्व न्यायाधीकरणमा वैद्य
विशेष अदालतबाट हालैमात्र सरुवा भएका उच्च अदालत पोखरामा सरुवा भएका न्यायाधीश प्रमोदकुमार वैद्यलाई राजश्व न्यायाधीकरण पोखराको प्रमुख पदको कार्यभार दिइएको छ।
पोखरा उच्च अदालतमा सरुवा भएका वैद्यलाई राजश्वको विवादसम्बन्धी मुद्दाको सुनुवाई गर्ने न्यायाधीकरणमा अध्यक्ष तोकेको हो। न्यायाधीकरणमा ३ सदस्यीय इजलास हुने गर्दछ। न्यायाधीकरणमा राजश्व, कानुन र करका विज्ञहरुले फैसला गर्ने गर्छन्। कानुनतर्फको रिक्त स्थानमा वैद्यलाई परिषद्ले तोकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।