काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले उच्च र जिल्ला अदालतमा कार्यरत रहेका ४ न्यायाधीशमाथि विस्तृत छानबिन गर्न समिति गठन गरेको छ।
आज बसेको परिषद्को बैठकले क्षेत्राधिकारबिहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौं जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशको छानबिन गर्न सर्वोच्च अदालतका दुई न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा छानबिन गर्न सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा समिति गठन भएको छ। उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न प्रधानको नेतृत्वमा समिति गठन गरेको हो।
उनीहरुले क्षेत्राधिकार नै नभएको मुद्दामा सुनुवाई गर्दै पक्षलाई फाइदा हुने गरी आदेश गरेका थिए। उक्त आदेशले राज्यकोषमा जम्मा हुनुपर्ने राजश्व नै समस्यामा परेपछि सर्वोच्चमा मुद्दा परेको थियो। उक्त मुद्दामा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै अनुसन्धान गर्न परिषद्को नाममा अन्तरिम आदेश गरेका थिए।
जिल्ला न्यायाधीश अर्जुन कोइरालामाथि छानबिन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ। हाल काठमाडौं जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।