काठमाडौं– बिहीबार राजधानीको क्विज हलमा फिल्म 'लालपुर्जा'को प्रिमियर सो हेरेर निस्कने क्रममा अभिनेता सौगात मल्लले फिल्म पुनः दोहोर्याएर नहेर्ने बताएका छन्। फिल्मबारे पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा सौगातले यस्तो अभिव्यक्ति दिएका हुन्।
आफूले अभिनय गरेका कुनै पनि फिल्म आफूलाई मन नपर्ने बताउँदै सौगातले कहिलै पनि कुनै फिल्म दोहोर्याएर हेर्ने बानी नभएको बताएका हुन्।
आफूले गर्न चाहेको काम जसरी पनि गर्ने तर कहिलेकाहीँ नचाहेको काम पनि गर्न वाध्य हुनुपर्ने अवस्था रहेको भन्दै उनले पत्रकारसामु दुखेसो पनि पोखे। दर्शकसँगै बसेर फिल्म हेर्दाको रेस्पोन्सबारे बोल्दै सौगातले भने, 'सबै चिनेजानेका साथीभाइसँग फिल्म हेरेर निस्कँदा सबैले वा!! गजब, वा!! दामी भन्नु हुन्छ, यो त सामान्य कुरा हो। तर आमदर्शकले के भन्नु हुन्छ त्यसमा भर पर्छ।'
बैजनी (पर्पल) कलरटोनमा प्रस्तुति तथा दुई दाजुभाइको झगडा र मितेरी गाँउको कथामा आधारित फिल्म हो, ‘लालपुर्जा’। ग्रामीण परिवेशभित्र रहेर, त्यही परिवेशमा हुने गरेका शूक्ष्म घटनालाई कथामा समावेस गर्नु फिल्मको मौलिकता हो। बहुबिवाह, पैतृक अंश, पारिवारिक कलह, माया-प्रेमजस्ता विषयलाई फिक्सनमा मात्र नभएर फेन्टासीका रुपमा पस्किएको लालपुर्जाका प्रस्तुतकर्ता नेगेटिभ बुद्ध बताउँछन्।
निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा सौगात मल्लका साथै विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणी नेपाल, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ। माघ ४ बाट राजधानीबाहिर रिलिज भएको लाजपुर्जा माघ ५ बाट काठमाडौं उपत्यकामा पनि रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।