काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ। एनआरएनएका अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बिहिबार यससम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एनआरएनएले आगामी ६ महिनाभित्र ऐतिहासिक सिन्धुलीगढीको पुनःनिर्माण गुरुयोजना तयार गरेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्नेछ।
सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले बीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो। २५० बर्षअघि पृथ्वी नारायण शाहले नेपाल एकिकरण सुरु गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरुले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए।
ब्रिटिस कम्पनीले कम्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए। विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा हरेक बर्ष बिजयोत्सव मनाइने गरेको छ।
यस्तै, गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाइने सम्झौतामा पत्रमा उल्लेख छ।
कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेल, कमलामाई नगरपालिकाका मेयर खत्री, नेपाली कांग्रेसका अध्यक्ष उज्वल बराललगायतले एनआएरएलाई गुरुयोजना बनाएपछि पुननिर्माणका कार्यमा समेत सहयोग गर्न आग्रह गरे। एनआरएनएका अध्यक्ष भट्टले सिन्धुलीगढीहुँदै जाने सडक आफू बस्दै आएको मुलुक जापानले बनाइदिइकाले आफूलाई सिन्धुलीगढीबारे चासो जागेको बताउँदै गुरुयोजना बनेपछि जिर्णोद्धार गर्न सहयोग जुटाउन आफूले पहल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।