काठमाडौँ – तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ।
हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हुँदै आएको छ।
मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रुलाई कठिनाइ भएपछि आफ्नो गन्तव्यमा पुग्न यात्रुलाई केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ।
विमान नउड्ने भएपछि यात्रुहरु लामो र जोखिमपूर्ण यात्रा भए पनि सडक मार्ग हुँदै राजधानी काठमाडौँ आवतजावत गर्ने गरेका छन् ।
विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् । आन्तरिकतर्फ हेलिकप्टरसहित नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्।
अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।