काठमाडौं- एक युवतीको हत्या आरोपी १२ वर्षपछि पक्राउ परेका छन्। विवाहका लागि टिकाटालो गरिसकेपछि बिहे गर्न नमानेको भन्दै युवतीको हत्या गर्ने युवक १२ वर्षपछि पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपाकिला–३ का ३७ वर्षीय सानु र राजू उपनामका राजेश लामा छन्।उनले १२ वर्षअघि ललितपुरको इमाडोलमा डेरा गरी बस्ने २२ वर्षीया सुनिता लामा लोप्चनको हत्या गरेका थिए।
मकवानपुरको साविकको फापरबारी गाविस–२ घर भएकी सुनिता २०६४ सालमा इमाडोलस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएकी थिइन्।
सोही बेला उनको सानेपामा डेरा गरी बस्ने राजेश लामासँग चिनजान भएको थियो। त्यसपछि उनीहरू बीच प्रेम सबम्ध रह्यो। राजेश सुनिताको कोठा जाने आउने र बस्ने गर्न थालिसकेका थिए।
प्रेम सम्बन्ध भएको ७ महिनापछि २०६४ मंसिरमा उनीहरूबीच विवाह गर्ने सहमति भयो। राजेशले विवाहको कुरा सुनिताको घरमा २०६४ मंसिर २८ गते गरेका थिए।
सिन्दुर पोते गर्न भन्दै राजेश घर काभ्रे शिखरआम्बोटे जाने तयारी थिए। तर मंसिर १७ र १८ गते सुनिता डेरा कोठामा नआइ सम्पर्कबिहिन भइन्। सम्पर्कबिहीन भएर विवाह रद्द गरेको राजेशले थाहा पाइसकेका थिए।
विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महशुस हुने भएकाले मार्ने योजना बनाएरै हत्या गरेको राजेशले प्रहरी समक्ष बयान दिएका छन्। त्यसका लागि उनले एक हजार रुपैयाँमा चक्कु किनेका थिए।
सुनिताको कोठामा पुस २७ गते अरु कोही नभएको मौका छोपेर राजेशले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेर सुनिताको हत्या गरेका थिए।
हत्या पश्चात राजु लामा नाम गरेको परिचय बनाइ उनी हटौंडामा गई एक होटलमा काम गर्न थालेका थिए। त्यहाँ ७ महिना काम गरी पुन काठमाडौं आएर विभिन्न होटलमा कुकको काम गरेका थिए। पछिल्लो समय भने उनी घरमा रंग लगाउने काम गर्थे।
पक्राउ परेका उनलाई जिल्ला अदालत ललितपुरबाट आज आइतबार साउन १० गतेबाटै लागू हुने गरी ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। हाल उनी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।