सुर्खेत– नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेता हुन्, दुर्गाकेशर खनाल। उनकै पहलमा २०२८ सालमा सुर्खेतमा नेपाली कांग्रेसको शाखा स्थापना भएको थियो।
खनालको परिवार डोटीबाट बसाइँ सरेर सुर्खेत आएको हो। अध्ययनका लागि सुर्खेतबाट काठमाडौं पुगेका खनाल त्यतिबेलादेखि नै राजनीतिमा आकर्षित भएका थिए। विद्यार्थीकालमा उनको संगत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग थियो भने विपी कोइरालासँग पनि उनको निकट सम्बन्ध थियो।
नेपाली कांग्रेस सुर्खेतका युवा नेता गोविन्द कोइरालाका अनुसार कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गठन हुनुपूर्व नै काठमाडौंमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थीले सुदूरपश्चिमाञ्चल छात्र संघ गठन गरेका थिए। जसको अध्यक्षमा अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा थिए भने उपाध्यक्ष खनाल थिए। यसले पनि देउवासँगको उनको निकटता देखाउँछ।
कोइरालाका अनुसार खनाल काठमाडौंमा उच्च शिक्षा हासिल गर्दै थिए। नेपाली कांग्रेसका नेता विपी कोइराला त्यतिबेला भर्खर सुन्दरीजल जेलबाट छुटेर बनारस गएका थिए। खनाल विपीलाई भेट्न बनारस पुगे। त्यतिबेला नै उनले विपीसँग सुर्खेतमा कांग्रेसको शाखा स्थापना गर्न अनुरोध गरे।
२०१८ सालमा मात्रै सुर्खेत स्वतन्त्र जिल्ला भएको थियो। त्यसअघि सुर्खेत जिल्ला दैलेखको अधिनमा थियो।
वीरेन्द्रनगरको गणेशचोक नजिकै शेर्पा होटल थियो। त्यही होटलमा यहाँका कांग्रेस नेताहरुको गोप्य बैठक बस्यो र जिल्ला शाखाको तदर्थ समिति गठन गर्यो। खनाल त्यतिबेला पढ्दै थिए। पढ्नका लागि काठमाडौं जानुपथ्र्यो। त्यसैले उनलाई सभापति बनाइएन, उनकै सहमतिमा मानसिंह विश्वकर्मालाई सभापति र खनाल सदस्य भएर जिल्ला शाखाको स्थापना गरेका थिए।
प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रपंक्तिमा लागेमन खनाल पटक–पटक जेल परेका छन्। उनी काठमाडौंबाट विए र विएडको पढाइ पूरा गरी सुर्खेत आए। त्यसपछि उनी पूर्णकालीन राजनीतिमा होमिए। सुर्खेतका कांग्रेस संस्थापक सदस्य उनी २०३६ सालमा जिल्ला शाखाको सभापति भए। सुर्खेतमा कांग्रेस स्थापना गर्न उनको विशेष योगदान रहेको यहाँका कांग्रेस नेताहरु बताउँछन्।
२०४८ सालमा राष्ट्रियसभाका सांसद बनेका खनालले त्यसबाहेक सार्वजनिक लाभको पद भने लिएका छैनन्। पार्टीको आन्तरिक भूमिकामा पनि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिभन्दा माथि पुगेनन्। कांग्रेस सुर्खेतका पूर्व जिल्ला कोषाध्यक्ष समेत रहेका गोविन्द कोइराला खनाललाई व्यक्तिगत लाभको पछि नलाग्ने नेताका रुपमा चित्रित गर्छन्।
चाकडी र चाप्लुसी गर्नै नचाहने उनको स्वाभिमानी स्वभावका कारण पनि उनले आफ्नो क्षमता र योगदानले पाउनुपर्ने जति लाभ पाउन नसकेको कोइरालाले बताए। ‘उहाँ लोकतन्त्रप्रति प्रतिवद्ध, अध्ययनशील, वौद्धिक र स्पष्ट बिचार भएको नेता हो,’ कोइराला भन्छन्, ‘आफ्नो स्वार्थका लागि अरुको चाकडी गर्ने स्वभाव उहाँमा छैन।’
खनालसँग शिक्षण पेशाको समेत अनुभव छ। उनले वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालयमा प्राध्यापन गरेका थिए। उनी जन माध्यमिक विद्यालयको प्राधानाध्यापक समेत थिए। विद्यालयको प्राधानाध्यापक, सांसद हुँदै खनाल अहिले प्रदेश ६ को प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।