रोल्पा- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर तेस्रो पटक पक्राउ परेका छन्।
बैसाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि पुनः पक्राउ परेका थिए। पछिल्लो पटक सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम साउन १० मा जिल्ला अदातल रोल्पाबाट रिहा भएका वलीलाई अदातल परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो। पक्राउपछि वलीलाई प्युठान लगिएको बताइएको छ।
विभिन्न जिल्लाका हिरासतमा समेत वलीले १ सय दिन बिताइसकेका छन्। संगठित अपराध र राज्यविरुद्ध अपराधमा वलीलाई मुद्दा चलाइएको छ। वलीसँगै गिरप्तार सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वली आदर्श र चन्द्रबहादुर खड्का भने अदालतको आदेशले सुनसरीबाट रिहा भइसकेका छन्।
५ जना जेल चलान ६ जना अझै हिरासतमा
सरकारको प्रतिबन्धपछि नेकपाका रोल्पाका डेढ दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। यसरी पक्राउ पर्नेमा सो पार्टीप्रति सामान्य आस्था राख्ने सर्वसाधारणदेखि जिल्ला स्तरीय नेतासम्म छन्।
पूर्वी रोल्पाको पाङबाट पक्राउ परेका सो पार्टीको जिल्ला इन्चार्ज जयप्रकाश रोका, धनबहादुर खत्री र भुपेन्द्र खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। त्यसअघि पार्टी सुभेच्छुक खैराम महरासहित अर्का व्यक्ति जेल चलान भइसकेका थिए। पुर्पक्षका लागि भन्दै सो पार्टीका ५ नेता कार्यकर्तालाई जेल चलान गरिसकिएको छ।
सो पार्टीका ६ नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखिएको छ। हिरासत रहेका नेता कार्यकर्तामा गंगोदव गाउँपालिकाका लालबहादुर वली, सुनिल स्मृति गाउँपालिकाका प्रदीप कुवँर, माडी गाउँपालिकाका सन्दीप वली, दिनेश वली, श्याम घर्ती र गणेश घर्ती रहेका छन्।
वलीलाई सोही पार्टीका केन्द्रीय सदस्य चूडामणि वलीसँगै प्रहरीले दाङबाट गिरफ्तार गरेको थियो। बन्दी प्रत्यक्षीकरणको रिट अन्तर्गत सर्वोच्च अदालतले रिहाइका लागि दुई पटक आदेश दिइसके पनि उनलाई प्रहरीले पटकपटक मुद्दा लगाउँदै आएको छ।
वलीले दाङको हिरासतमा ५० दिन र रोल्पाको हिरासतमा ५० दिन बिताइसकेका छन्। यसैगरी जिल्ला सदरमुकाम लिवाङमा रहेका जलजला बहुमुखी क्याम्पसबाट स्नातक तहको परीक्षा दिँदै गरेका सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका रोल्पा जिल्ला उपाध्यक्ष केशव कुँवरलाई समेत प्रहरीले पक्राउ गरेको लामो समय भइसकेको छ। प्रहरीले सन्दीप वली, श्याम दिनेश वली र गणेशलाई माडीगाउँपालिकाको पेदीखोलाबाट पक्राउ गरेको थियो।
हिरासत बसी पछि सदरमुकाम लिवाङमा चियापसल गर्दै आएका देउराम सुनार केही दिनअघि रिहा भएका छन्। तीन साताभन्दा बढी हिरासत बसाइपछि उनी मुक्त भएका छन्। प्रहरी कार्यालयभित्र चिया पुर्याउन पुगेका सुनारलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो।
सो पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार वीरबल खड्का केही दिनअघि अदालतको आदेशमा रिहा भएका थिए। दाङको घोराहीबाट पक्राउ परेका खड्का शिक्षक सेवा आयोग उत्तीर्ण गरी नियुक्ति बुझ्ने प्रक्रियामा रहेका बेला पक्राउ परेका थिए।
दाङ, प्युठान र पुनः दाङ पुर्याएका खड्का सम्बन्धित जिल्ला अदालतहरुको आदेशले पटकपटक रिहा भए पनि प्रहरीले पुनः गिरफ्तार गरेको थियो। यसअघि सदरमुकाम लिवाङमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका लालबहादुर सुनार, त्रिवेणी गाउँपालिकाका जीवन परियार र समुद्र तथा माडी गाउँपालिकाका सूर्य खड्कालाई गिरफ्तार गरी रिहा गरिसकेको छ।
सांगठनिक कामको सिलसिलामा बझाङ पुगेकी सो पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्षबवन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको लामो समय भइसकेको छ। रोल्पाको घोडागाउँमा जन्मिएकी चन्दकी आमाको केही दिनअघि मृत्यु भएको थियो। हिरासतमा रहेकी चन्दलाई आमा मृत्युश्यामा रहेको बेलासमेत भेट्न दिइएको थिएन।
रोल्पा जिनावाङ घर भएका चूडामणि वली आदर्श दाङको तुल्सीपुरबाट पक्राउ परेका थिए। आदर्श माओवादीले सञ्चालन गरेको दसवर्षे युद्धमा समेत लामो समय जेल बसेका नेता हुन्। वली सर्वोच्च अदातलको आदेशपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट रिहा भइसकेका छन्। यसैगरी प्रहरीले रोल्पाको परिवर्तन गाउँपालिका घर भई चुरे क्षेत्रको सेक्रेटरी रहेका एनार्जन घर्ती र गंगादेव गाउँपालिका घर भएका कास्की जिल्ला सेक्रेटरी आक्रोशलाई समेत पक्राउ गरेको छ।
रोल्पालाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्रको रुपमा लिने गरिन्छ। सो पार्टीका महासचिव विप्लव, स्थायी समिति सदस्य सन्तोष बूढासहित करिब दर्जन केन्द्रीय सदस्यसमेत रोल्पाली रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।