काठमाडौं- तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन्।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले राससलाई जानकारी दिए।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धाता टीका शेर्पाले बताए।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै छ। सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ।
आज सरकारले सार्वजनिक बिदा दिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।