धनगढी- सडक क्षेत्रभित्र बनाइएका घर र अन्य संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणाधीन ६ लेन सडक निर्माण कार्य रोकिएको छ।
विवादका बीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ जना घरधनीले दिएको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि सो क्षेत्रको सडक निर्माणको काम रोकिएको मोहनापुल–अत्तरिया सडक आयोजनाका प्रमुख मनिषकुमार साहले बताए।
सडक ऐन २०३१ ले सडकको चौडाइ ८२ फिट (२५ मिटर) तोके पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले अहिले आएर सडक निर्माणमा समस्या भएको साहले बताए।
'अदालतको अन्तिम फैसलापछि काम सञ्चालन हुन्छ', साहले भने, 'अदालतले गर्ने फैसला सबैका लागि मान्य हुन्छ।'
ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको करिब दुई किलोमिटर सडकको भागमा संरचना भत्काउन नपाएर काम रोकिए पनि बाँकी क्षेत्रमा सडक निर्माण कार्य सञ्चालन रहेको छ।
धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया बजारसम्मको यो १४ किलोमिटर लामो सडकमध्ये बजार क्षेत्रको १० किलोमिटर लामो भागमा ६ लेन र ग्रामीण क्षेत्रको चार किलोमिटर भागमा ‘चार लेन’ सडक निर्माण गर्ने लक्ष्य छ।
कूल लागत एक अर्ब ५० करोड रुपैयाँको यो सडक निर्माणका लागि चालु वर्षमा ५० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ। ६ लेन सडक निर्माणका लागि ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको दुई किलोमिटर सडक आसपासका करिब १ सय ५० घर संरचना भत्काउनुपर्ने देखिएको छ।
धनगढी क्षेत्रमा सडक सञ्जालको विकासका लागि पहिलो पटक ठूलो बजेट रकमसहित ६ लेन सडक निर्माण आयोजनाले काम थालेपछि खुसी भएका नगरवासी सडक निर्माणमा भइरहेको अवरोधले निराश भएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।