काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिँदा प्रतिशतको आधारमा घुस लिने ३ इन्जिनियरविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका इन्जिनियर दिपेन्द्रकुमार देव, शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका सव-इन्जिनियर धनवीर भगत र शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका तत्कालीन सव-इन्जिनियर निरजकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको हो।
घुस लिएका तीनैजना इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
उनीहरुले महाभारत, काभ्रेको स्कुल भवन निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएका थिए।
उनीहरुले सेवाग्राहीसँग घुस लिएर राष्ट्रिय वाणिज्य बैंक बनेपामा जम्मा गर्न लगाएका थिए। घुस रकम बैंकमा जम्मा गरेको भौचर लिइसकेको अवस्थामा उनीहरु अख्तियारको फन्दामा परेका हुन्।
शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले इन्जिनियर देवले आफ्ना लागि सहजरूपमा घुस रकम संकलन गराउन सकियोस् र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस् भन्ने उद्देश्यले सव-इन्जिनियर भगतलाई पठाएको अनुसन्धानबाट खुलेको छ।
भगतले पनि विद्यालयको मर्मतसम्बन्धी कार्य फरफारक गर्ने र गराउने सिलसिलामा सेवाग्राहीबाट घुस रकम माग्ने तथा बैंक खातामा जम्मा गर्न लगाउने सम्बन्धमा चौधरीलाई खटाइएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।