काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीन उडानको लागि अनुमति पाएको छ। हिमालय एयरलाइन्सको उच्च स्रोतका अनुसार कम्पनीले चीनको बेइजिङ उडानमा अनुमति पाएको हो।
चीनको गोन्जाओ उडानमा नोपल एयरलाइन्सले अनुमति नपाएको अवस्थामा हिमालयले भने चीनको राजधानी बेइजिङ उडानमा अनुमति पाएको छ। हिमालयले आगामी अक्टोबरदेखि काठमाडौं-बेइजिङ सिधा उडान गर्ने गरी अनुमति पाएको हो।
चीन उडानका लागि लागि हिमालयले तयारी थालेसँगे चिनियाँ नागरिक उड्डयन प्राधिकरणले 'सेफ्टी अडिट'समेत गरेको थियो। सेफ्टी अडिटमा हिमालय एयरलाइन्स पास भएको थियो। हिमालयसँग अहिले ३ वटा एयरबस विमान छन्।
हिमालयमा यति वर्ल्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलायन्सको ४९ प्रतिशत स्वामित्व छ। हिमालयले हाल ढाका, दोहा, दुबई, आबुधाबी र दमाममा उडान भर्दै आएको छ।
आर्थिक संकट बेहोर्दै आएको हिमालयले विमानस्थल कार्यालयलाई पनि १९ करोडभन्दा बढी रकम तिर्न बाँकी छ। आर्थिक संकट थेग्नकै लागि हिमालयले एउटा विमान भुटानको बेम्बो एयरवेजलाई १ वर्षका लागि भाडामा दिएको छ।
यसैबीच, आज मात्रै चीन र नेपाल सरकारबीच सन् २०१४ मा भएको हवाई सम्झौतासमेत पुनरावलोकन भएको छ। सम्झौतामा उपत्यका बाहिर २८ वटा उडानसहित चिनियाँ वायुसेवा कम्पनीले नेपालमा ९८ वटा उडान गर्न पाउने गरी सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।