काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीन उडानको अनुमति पाएको छ। चीनको बेइजिङमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको बेइजिङ डाचिङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति पाएको हो। यो विमानस्थलमा केही समयअघि मात्रै परीक्षण उडान सम्पन्न भएको थियो। औपचारिक रुपमा विमानस्थलको सुरुवात भने सेप्टेम्बर १४ देखि हुन्छ।
चीनको गोन्जाओ उडानमा नेपाल एयरलाइन्सले अनुमति नपाएको अवस्थामा हिमालयले भने बेइजिङमा अनुमति पाएको छ।
हिमालयले अक्टोबरदेखि सिधा बेइजिङ उडान गर्नेछ।
चीन उडानका लागि लागि हिमालयले तयारी थालेसँगे चिनियाँ नागरिक उड्डयन प्राधिकरणले सेफ्टी अडिटसमेत गरेको थियो। सेफ्टी अडिटमा हिमालय पास भएको थियो। हिमालयसँग अहिले ३ वटा एयरबस जहाज छन्।
हिमालयमा यती वर्ल्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलायन्सको ४९ प्रतिशत स्वामित्व छ। हिमालयले हाल ढाका, दोहा, दुबई, आबुधाबी र दमाममा उडान गर्दै आएको छ।
आर्थिक संकट बेर्होदै आएको हिमालले विमानस्थल कार्यालयलाई पनि १९ करोडभन्दा बढी रकम तिर्न बाँकी छ। आर्थिक संकट थेग्नकै लागि हिमालयले एउटा जहाज भने भुटानको बेम्बो एयरवेजलाई १ वर्षका लागि भाडामा दिएको छ।
यसैबीच आज मात्रै चीन र नेपाल सरकार बीच सन् २०१४ मा भएको हवाई सम्झौता समेत पुनरावलोकन भएको छ। सम्झौतामा उपत्याका बाहिर २८ वटा उडानसहित चिनियाँ वायुसेवा कम्पनीले नेपालमा ९८ वटा उडान गर्न पाउने गरी सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।