काठमाडौं- निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ सिफारिस भएका २ सय २० जना उम्मेदवारलाई निर्वाचित घोषणा गरेको छ।
आयोग केन्द्रीय कार्यालयमा बुधबार बसेको आयोग पदाधिकारीको बैठकले मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रदेशसभाको समानुपातिकतर्फ राजनीतिक दलले सात वटा प्रदेशमा सिफारिस गरेका नामबाट उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको हो।
बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो। संविधान अनुसार सात प्रदेशमा समानुपातिकतर्फ २ सय २० जना उम्मेदवार निर्वाचित भएका छन्।
आयोगले प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई आ-आफ्ना राजनीतिक दलसँग समन्वय गरी माघ ५ गते शुक्रबार दिउँसो एक बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेको छ।
आयोगको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपमान्तरण गरी सिट यकिन गरेपश्चात् राजनीतिक दलले छनोट गरी आयोग समक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभामा निर्वाचित भएको घोषणा गरिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।