काठमाडौं– कुनै समय थियो, ऐनामा आफ्नो शरीर हेर्दा उनका आँखालाई चित्त बुझ्दैन थियो। तौल बढ्दै गए समस्या आउँछ भनेर झसंग बनाउँथ्यो। उनको डर मोटो शरीरसँग भन्दा त्यसले ल्याउन सक्ने रोगसँग बढी थियो।
दिमागले भन्थ्यो– धेरै मोटाउनु हुँदैन, नराम्री देखिइस्, शरीर सन्तुलनमा राख्नैपर्छ। मनले भन्थ्यो– मिठो लाग्ने खाने कुरा छाडेर कसले दुःख गरोस्।
उनका लागि सुन्दरतामा कालो-सेतो, अग्लो-होचोका गुणहरु गौण छन्। चन्द्रमा जस्तो आकृतिमा मृगका जस्ता आँखा, गुलाफका पत्र जस्ता ओठ आदि विम्बहरुमा पनि आवरणको अतिव्याख्याबाहेक अरु देख्दिनन्। सौन्दर्य प्रसाधनको विज्ञापनमा भनिने जस्तो 'सिल्की कपाल' र 'कोमल त्वचा'मा उनको सौन्दर्यशास्त्र अटाउँदैन।
'सुन्दर' देखिन शरीरका पछाडि भएको मेहनतले बाटो निकै मोडिएको छ। फरक सफलता मिलेको छ। सोच फेरिएको छ। सोच फेरिदिन बाध्य पारेको छ। यसले नै मल्लिका शाक्यलाई नयाँ परिचय दिलाएको छ।
ठिक यहीँनेर सुरु हुन्छ, मल्लिकाको वास्तविक कथा। मेहनतको कथा। खेलाडी बनेपछिको कथा। जितको कथा। उत्साहको कथा। सपना र लक्ष्यको कथा।
गएको शनिबार काठमाडौंमा सकिएको १२औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत महिला मोडल फिजिकमा मल्लिकाले स्वर्ण पदक जितिन्। स्वस्थ बन्ने, सुन्दर देखिने मल्लिकाको बाटो जब खेलाडीतिर मोडियो तब फेरियो उनको वर्तमान, फेरिँदैछ भविष्य।
स्वर्ण पदक जित्दैगर्दा मल्लिकालाई विश्वास नै भएन। मिलेको शरीर बनाउन जिम सेन्टर पुगेकी उनलाई दक्षिण एसियाली प्रतिस्पर्धामा देशको नाम राख्न सकेको सपना नै लाग्यो।
'त्यो बेला मात्रै होइन अहिलेसम्म पनि सपना जस्तो भइरहेको छ। सोचेकै थिएन यस्तो हुन्छ भनेर,' कालिमाटीस्थित डिभाइन फिटनेस सेन्टरमा भेटिएकी उनले हाँस्दै सुनाइन्, 'सपनामा नै छु कि जस्तो लाग्छ। जितेको क्षणमा त दिमागमा केही आएकै थिएन। केही सोच्नै सकिनँ। नभर्स पो भएँ।'
ती मल्लिका यी मल्लिका
मल्लिका अहिले २९ वर्षकी भइन्। शारीरिक सुगठनमा आउनुभन्दा पहिले उनले म्यानपावर कम्पनीमा जागिर खाइन्। अर्काको काम कत्ति गर्ने! आफै केही गर्नुपर्छ। मन नलागेको काममा पैसा मात्रै हेरेर पनि त भएन; उनका यस्ता सोच आइरहेकै थिए।
२०७२ सालको भूकम्पपछि उनले जागिर छोडिन्। आफू अलि मोटाएँ भन्ने डरले उनलाई फिटनेस सेन्टरतिर पुर्यायो।
'पहिले मेरो शरीर सन्तुलनमै थियो। भूकम्पपछि भने १० किलोजति मोटाएँ। मोटो हुनु फाइदाजनक हुँदैन भन्ने लागेर जिम जान सुरु गरेँ,' उनले पुराना दिन सम्झिइन्, 'तीन महिनामा शरीर फेरि साधारण अवस्थामै आयो। नियमित व्यायामका अरु तरिका पनि सिक्दै गएँ।'
मल्लिकालाई सुरुसुरुमा जिम गर्दा अल्छी नलागेको होइन। रमाइलोका लागि मात्रै उनी गइरहेकी थिइन्। मेहनत थिएन। जब मेहनत पनि गर्न थालिन्, त्यही मेहनतले स्वर्ण पदकसम्मको बाटो तय गरेको भन्दा उनी गर्विलो महसुस गर्छिन्।
गुरु रुजेश शाहीले मल्लिकामा सम्भावना उतिबेलै देखेका हुन्। त्यसमा निरन्तरको मेहनतले परिवर्तन पनि देखिँदै गए। 'पहिले आउँदा र अहिले मल्लिकामा धेरै नै परिवर्तन भइसकेको छ। उनी एरोबिक र जुम्बाको गुरु पनि भइसकेकाले सहज भएको छ। पहिले जे थियो त्यो अझ तिखारिएको छ,' गुरु रुजेशले सुनाए।
बडीबिल्डिङ अन्तर्गत मोडल फिजिकमा मल्लिकाले खेल्न सक्छिन् भन्ने रुजेशले नै परखेका थिए। 'मल्लिकाको मेहनत खेलाडी बन्न लायक देखिरहेको थिएँ। उनको शरीरमा देखिएको फ्याट काटेपछि शरीर सन्तुलनमा आउँछ जस्तो लागेको थियो। नभन्दै पदक जितेर त्यो कुरा प्रमाणित पनि भएको छ,' रुजेशले खुसी हुँदै सुनाए।
आफूमा गुरुले खेलाडीको गुण देखिरहँदा उनको लगातार जस्तो एउटै प्रश्न हुन्थ्यो, 'सक्छु होला र?'
गुरु सम्झाउँथे, 'नसक्ने भन्ने होइन, कोसिस गरेपछि सकिन्छ नै।'
भिडियो-
सन् २०१५ मा नै विश्व शारीरिक सुगठनमा रजत पदक जितेका रुजेशको आँखाले मल्लिकामा जे ठम्याएको थियो, त्यो गलत थिएन। स्वर्ण जितेपछि पनि उनको ठम्याइ थप प्रमाणित भइसकेको छ।
अहिले दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेको भिडियो हेरेर दंग पर्छिन् मल्लिका। आफूले पाएको सफलतामा परिवार र साथीभाइ पनि खुसी भएको देख्दा उनको उत्साह अझ उचालिन्छ।
गुरुले देखेको सफलता
सहिद धर्मभक्त माथेमाले भारतको बंगालमा शारीरिक व्यायामशालाबाट सिकेको ज्ञान नेपालमा आएर प्रयोग गर्न थालेपछि यहाँ शारीरिक सुगठनको अभ्यास हुन थालेको बताइन्छ। त्यो समय राजा त्रिभुवनको व्यायाम शिक्षकसमेत रहेका धर्मभक्तको बाटो पछ्याउँदै युवाहरु शारीरिक व्यायाममा लागेका थिए।
इजिप्ट र ग्रिसको प्राचीन इतिहासमा मात्रै होइन, ढुंगे युगका आख्यानहरुमा पनि बलवान् शरीरलाई सफलतासँग जोडिएर हेरिन्थ्यो। सुगठित शरीरका लागि मेहनत गर्ने र त्यसलाई प्रयोग गरेर उपलब्धि हासिल गर्ने अभ्यास पुरानै हो।
नेपालमा २०१० सालमा 'नेपाल व्यायाम मन्दिर'को नाममा काठमाडौं ज्याठामा पहिलो व्यायामशाला खोलियो। त्यसले शारीरिक सुगठन खेलकै विकासमा ठूलो सहयोग गरेको छ। अहिले त उपत्यकामा मात्रै त्यस्ता व्यायामशाला झन्डै दुई सयको संख्यामा छन्। जहाँ खेलाडी बन्ने बाटोमा नभए पनि स्वस्थ बन्न सयौंले शरीरबाट पसिना उमारिरहेका छन्।
स्वस्थ र कसिलो शरीरका लागि व्यायामशाला पुगेकाहरुलाई जब रुजेश जस्ता पारखीले नियाल्छन्, तब मल्लिका जस्ता खेलाडी जन्मिन्छन्। त्यसका लागि एक खेलाडीले गर्ने जस्तै मेहनत पर्छ गुरुको पनि।
'मैले त बाटो देखाउने मात्रै न हो। मैले भनेका कुरामा खेलाडीले उस्तै मेहनत गरेपछि बल्ल नतिजा निस्कन्छ,' रुजेश भन्छन्।
मल्लिकाले मेहनत गर्न सक्छिन् भन्ने लागेरै रुजेशले उनलाई गएको बैशाखमा भएको हिमालय शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुने गरी तयारी गराए।
समय कम भए पनि हिमालयमा सहभागी गराउनमा रुजेशको सोच थियो, अहिलेको तयारीले दक्षिण एसियाली शारीरिक सुगठनको बेला फाइदा हुनेछ। चार महिनामा धेरै कुरा फेरिनेछ। जसले नेपालको उपस्थिति बलियो बन्नेछ।
हिमालय शारीरिक सुगठनमा चौथो भएकी मल्लिकालाई त्यतिबेला धेरैले भने, 'यस्तो शरीर लिएर पनि खेल्न आउने?' कतिले सुनाए, 'छोटो लुगा लगाएर शरीर देखाउने पनि कस्तो खेल हो!'
विश्वस्तरको प्रतिस्पर्धामा नेपाली खेलाडीले स्वर्ण जितेर आइसकेको अवस्थामा पनि शारीरिक सुगठनलाई खेलकै रुपमा नस्विकार्ने खालका भनाइमा मल्लिकाले उस्तो ध्यान दिइनन्। भन्छिन्, 'भन्नेका कुरा सुनेर साध्य पनि हुँदैन, यसैले मैले आफ्नो मेहनतमा मात्रै ध्यान दिएँ।'
नियमको परिधि
शारीरिक सुगठनका लागि खेलाडीले नुनपानी छाडेरै तयारी गुर्नुपर्छ। कडा व्यायामसँगै खानपानमा दिनुपर्ने ध्यानले पनि धेरै खेलाडी यसलाई निरन्तरता दिन सक्दैनन्।
मल्लिकाले चार महिना त केही नसोची कडा मेहनत गरिन्। 'एकदमै कडा नियममा बस्नुपर्ने हुन्छ। खानेकुरामा पनि असाध्यै ध्यान दिनुपर्ने। म आफै पनि बिहान-बेलुका जिम सिकाउन जाने भएकाले एक सेकेन्ड पनि समय बच्दैन थियो,' मल्लिका भन्छिन्, 'कडा अनुशासनमा बसिएन र नियम तोडियो भने त सफलता कहाँ सम्भव हुन्छ र।'
उनी हाँस्दै थप्छिन्, 'कोहीकोही चिट पनि गर्छन्, तर समय कम भएकाले लुकेर अरु कुरा खान मैले चाहिँ पाइनँ।'
गुरुले 'भोलिदेखि नै अभ्यास सुरु' भन्नेबित्तिकै मल्लिकाले खाइरहेको कुरा त बन्द भइहाल्यो। कुखुराको उसिनेको मासु, उसिनेको अण्डा, उसिनेकै तरकारी र फलफूल उनको 'डाइट चार्ट'मा थिए।
सुरुसुरुमा खानेकुराको तरिका देखेर मल्लिकाकी आमा नै खुब आत्तिएकी थिइन्। उनको प्रश्न हुन्थ्यो, 'यो कस्तो खेल हो, भात-नुनै खान नहुने?'
'आमाले त छोरीले भात खानै छाडी भनेर अरुसँग पनि गुनासो गर्नुहुन्थ्यो। वरपर सबैलाई थाहा थियो, मल्लिकाले भात नै खाँदैन,' उनी भन्छिन्, 'गेम खेल्न लागेको हो भन्छु, यो कस्तो गेम हो त भनेर सोधिहाल्नुहुन्छ। युट्युबमा अरुले खेलको भिडियो देखाइदिएपछि बल्ल बुझ्नुभयो।'
नुनतेल खान नहुने भए पनि छोरीलाई मिठो होस भनेर आमाले थाहा नपाउने गरी थोरै मिसाइदिइहाल्थिन्। तर खाँदाखेरी उनलाई थाहा भइहाल्थ्यो।
एकदिन आमाले खानेकुरामा नुन हालिरहेको उनले फेला पारिन्। आफ्नो खेलमा नुनतेल लगायत खानेकुरामा ध्यान दिनुपर्छ भनेर बुझाएपछि मात्रै बल्ल आमा विश्वस्त बनेको उनले सुनाइन्।
मल्लिकालाई थाहा भयो, कुनै खेलाडीले उपलब्धि पाउनका लागि सबैभन्दा ठूलो सहयोग घरबाट हुन जरुरी छ। घरबाट समर्थन नपाउने कति साथीहरु लुकीलुकी खेलेको उनैले देखेकी छिन्।
कडा अनुशासनमा निरन्तरको अभ्यासपछि पनि खेलको दिन स्टेजमा जाँदा मल्लिकाको मन अत्तालिएको थियो। तर पनि त्यो भाव अनुहारमा आउन दिइनन्।
'म विश्वस्त छु भनेजसरी नै प्रस्तुत भएँ। अरुले मेरो डर अनुहारमा देख्न पाएनन्,' उनले भनिन्, 'जितपछि त मेरो त्यो विश्वास अझ बलियो बनेको छ।'
एउटा कुराले भने उनलाई खल्लो लाग्छ। 'मलाई मन पर्ने खानेकुराहरु छुट्यो नि त,' उनी हाँस्दै भन्छिन्, 'ससेज र फास्ट फुड धेरै नै मनपर्थ्यो।'
फेरिएको लक्ष्य
दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेपछि घर पुग्नेबित्तिकै मल्लिकालाई आमाले सोधेकी थिइन्, 'जितेर के ल्याइस् त?'
स्वर्ण पदक देखाउँदै भनेकी थिइन्, 'यी यही हो।'
त्यो पदकको खुसी आमाको अनुहारमा पनि झल्किन्थ्यो। उनको लामो समयको मेहनतको फल थियो त्यो। 'यस्तो शरीरले पनि खेल्ने?' भन्नेहरुका लागि जवाफ।
त्यो जितपछि मल्लिकालाई लागेको थियो, जितिहालेँ अब खेल्दिनँ। तर फेरि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुपर्छ भन्ने गुरुको भनाइलाई उनले नकार्न सकिनन्। यसैले उनी साउन ३१ देखि थाइल्यान्डमा हुने एसिया प्यासिफिक बडीबिल्डिङ च्याम्पियनसिप र भदौ २६ देखि चीनमा हुने एसियन बडीबिल्डिङ तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा सहभागी हुँदैछिन्।
'एउटा उपाधि जितेपछि अर्को उपाधिको लोभ पनि त लाग्ने रहेछ,' सफलताको सोपान चढिरहेकी मल्लिका भन्छिन्, 'जितको भोक बढ्दै जाँदो रहेछ।'
पहिले हिमालयमा प्रतिस्पर्धा गर्दा उनलाई खासै वास्ता थिएन। किनकि उनी चौथो भएकी थिइन्। त्यसपछि उनलाई लाग्यो– अब त पहिलो हुनुपर्छ। दक्षिण एसियाली प्रतिस्पर्धामा पहिलो नै भइन्, अब योभन्दा माथि जित्नुपर्छ भन्ने लाग्न थालेको छ। केही गर्छु भन्ने सपना थपिएको छ।
'जितेपछि अरुको व्यवहार परिवर्तन हुने भएर आफूलाई पनि केही फेरिएँ कि जस्तो लाग्ने रहेछ। सामाजिक सञ्जालमा पछ्याउनेहरु पनि निकै बढेका छन्। तपाईंले धेरै राम्रो काम गर्नुभएको छ भनेर सन्देश पठाउनुहुन्छ,' उनले खुसी साटिन्।
उनी आफैलाई भने फेरिएको छु जस्तो लाग्दैन। नियमित काम केही फेरिएको छैन। तर उपाधि जित्दाको क्षणले भने बेलाबेला रमाइलो गरी झस्काइरहन्छ। खुसी दिन्छ। आफै हाँस्छिन्। रोमाञ्चित बन्छिन्।
बिहेपछि पनि सकिएला?
मल्लिकाको अगाडि अहिले एउटा प्रश्न छ– बिहेपछि पनि यसरी नै खेलिरहन सकिएला?
'नेपालमा केटीहरुलाई यो खेलमा गाह्रो नै छ। साथीभाइ र परिवारको सहयोगले म यहाँसम्म आउन सकेको हुँ। अब यहाँबाट अघि पनि बढ्छु भन्ने नै छ,' उनी अलि गम्भीर देखिइन्, 'बिहे कस्तो सोचको मान्छेसँग हुन्छ, त्यसमा भर पर्ला। तर सोच नमिली बिहे पनि हुँदैन।'
समाजमा केटाहरुले गर्ने काम केटीले पनि गर्न सक्छन् भन्ने ज्ञानको विकास राम्ररी भइसकेको छ जस्तो मल्लिकालाई लाग्दैन। तर, उनी विश्वस्त छिन्– त्यो ज्ञान विस्तार गर्न आफै अगाडि नबढे सम्भव छैन।
हरेक मानिसको नजर फरक हुन्छ। सकारात्मक कामले नै गलत सोच फेरिनेमा उनी दृढ पनि छिन्।
अहिले फेरिएको उनको सुन्दरताको परिभाषामा पनि यही छ, 'सुन्दर कामले मानिसलाई सुन्दर बनाउँछ। म यस्तै सुन्दर काममा लागिरहनेछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।