काठमाडौं– सरकारले प्रदेश प्रमुखको नियुक्ति समयमै नगरिदिँदा प्रदेशसभाका सांसदहरुको अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरिरहेको छ।
मंगलबार नै सार्वजनिक गरिने भनिएको प्रदेशसभाको मतपरिणाम आयोगले सार्वजनिक नगरीकन रोकेको थियो। आयोगले प्रदेशसभाको नतिजा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था भएका कारण आयोगले नतिजा रोकिराखेको हो।
'सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेपछि मात्रै हामीले पनि अन्तिम नतिजा घोषणा गर्छौं र बुझाउँछौं', आयोग सम्बद्ध एक कर्मचारीले भने।
आयोगले नतिजा घोषणा गरेको एक हप्ताभित्र प्रदेश प्रमुखलाई नतिजा बुझाउनुपर्ने प्रावधान छ। सरकारका तर्फबाट हुनसक्ने ढिलाइले पछि संवैधानिक अड्चन आउनसक्ने भएकाले आयोग झमेलामा फस्न चाहेको छैन।
प्रतिनिधिसभाको सँगसँगै प्रदेशसभाको निर्वाचन पनि दुई चरणामा मंसिर १० र २१ गते भएको थियो। प्रत्यक्षतर्फको अन्तिम नतिजा एक महिनाभन्दा अघि नै आइसकेको छ। त्यस्तै समानुपातिक सूची पनि तयार नै छ। विवादमा परेको राष्ट्रिय जनता पार्टीको सूची आयोगको मान्यता अनुसार नभए सो दलको सूचीबिना नै नतिजा सार्वजनिक गर्ने तयारी आयोगको छ।
सात प्रदेशमा प्रत्यक्ष तर्फबाट ३ सय ३० र समानुपातिक तर्फबाट २ सय २० गरी कुल ५ सय ५० प्रदेश सांसद रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।