काठमाडौं– कार्ल्सबर्ग फाउन्डेसनद्वारा स्थापित योङ ग्लोबल पायोनियर्स (वाइजिपी) छात्रवृत्ति सारस अधिकारीलाई प्रदान गरिने भएको छ। युवा लक्षित लर्निङ जर्नीको आयोजना गर्न प्रायोजन गरिएको यस छात्रवृत्तिमा नेपालका सारस अधिकारी छनौट भएका हुन्। विश्वभरिका हजारौं सहभागीबाट सारसलाई छानिएको बताइएको छ।
इञ्जिनीयरिङका विद्यार्थी अधिकारीको नेपाली हस्तकला प्रवर्द्धन गर्ने प्रभावकारी व्यवसायिक सोचको लागि छात्रवृत्ति प्रदान गरिएको हो।
वाइजिपी छात्रवृत्ति प्राप्त गरेका अधिकारीलाई गोर्खा ब्रुअरीले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी अभिनन्दन समेत गरेको छ।
कार्ल्सबर्गले १६ देशका २२ युवालाई एकसाथ राखेर उनीहरुको विचार आदानप्रदान गर्ने वातावरण उपलब्ध गराउने यो कार्यक्रम विश्वव्यापी हो।
छात्रवृत्तिअन्तर्गत अधिकारीले तान्जानियाका विश्वविद्यालय एवं बिजनेस हाउस भ्रमण गर्न र युवा उद्यमीहरुसँग भेटेर उनीहरुको अनुभव बुझ्ने मौका प्राप्त गर्नेछन्।
वाइजिपी प्रोग्रामले उत्कृष्ट प्रतिभाका लागि विश्वभर नेटवर्क बनाउने गोर्खा ब्रुअरीका बजार निर्देशक वैभव शर्माले बताए।
भविष्यका जिम्मेवार लिडरलाई विश्वव्यापी अन्तदृष्टि, अन्तरसांस्कृतिक दक्षता र आकांक्षाका साथ उनीहरुको छुट्टै पहिचान बनाउन सहयोग गर्नु यो छात्रवृत्तिको उद्देश्य भएको फाउन्डेसनले बताएको छ।
‘कार्ल्सबर्ग ग्रुपद्वारा प्रदान गरिएको यो अनुभव लिन म ज्यादै उत्साहित छु। त्यहाँ सिकिएका कुराहरुबाट म आफ्नोे प्रोजेक्टको योजना बनाउने छु। प्राकृतिकरुपमा उत्पादन गरिएका कृषि उत्पादनबाट तयार गरिएको हस्तकलामा मेरो प्रोजेक्ट केन्द्रित छ,’ छात्रवृत्ति प्राप्त गरेका अधिकारीले अभिनन्दन कार्यक्रममा भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।