पोखरा- यति एयरलाइन्सले पोखराबाट भैरहवा, भरपुर र माउन्टेन फ्लाइट गर्ने भएको छ। पोखराबाट काठमाडौं मात्र उडान गर्दै आएको यतिले पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट संचालन गर्ने जानकारी दिएको हो।
यतिले पोखराबाट भैरहवाका लागि साउन १६ देखि, भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउन्टेन उडान गर्ने जानकारी पत्रकार सम्मेलनमा दिएको हो।
त्यसैगरी, पोखराबाट नेपालगञ्जका लागि चार्टर्ड फ्लाइट सेवा पनि सुरू गर्ने लागिएको कम्पनीका बिक्री प्रबन्धक सरल राणाले बताए।
'२० मिनेटको उडानमार्फत् पोखरा र भैरहवालाई जोडिनेछ। पोखराबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट समेत सुरु गर्न लागिएको छ,' उनले भने, 'माउन्टेन फ्लाइटमार्फत् पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरीजस्ता हिमश्रृंखलाको दृश्यावलोकन गर्न सक्नेछन्।'
पोखरा-भैरहवा उडानका लागि २ हजार ७ सयदेखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ।
यस्तै, पोखरा-भरतपुरका लागि २ हजार ५ सयदेखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका वरिष्ठ प्रबन्ध निर्देशक भीमराज राईले जानकारी दिए।
उनले ३० सिटर जेट स्ट्रिमबाट सेवा दिने बताए।
माउन्टेन फ्लाइट बिहान ७ बजे, पोखरा-भैरहवा बिहान साढे ९ बजे र पोखरा-भरतपुर बिहान १० बजेर ५० मिनेटमा उडान गरिने कार्यतालिका यतिले बनाएको छ।
पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि सहज होस् भन्दै बुद्ध एयरले १ बजे उडान गर्दै आएकोमा यतिले समेत सेवा थप गरेपछि पर्यटकको लागि सहज हुने व्यवसायीको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट यतिले सेवा दिँदै आएको छ।
यतिकै भगिनी तारा एयरले ४ वटा ट्वीन अटर र २ वटा डोर्नियर डिओ २२८ मार्फत् जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान गर्दै आएको छ।
यस्तो छ भाडादर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।