काठमाडौं- सर्वोच्च अदालतले पाँच वर्षअघि पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेपछि मनाङ प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) जेल चलान हुने भएका छन्। ज्यान मुद्दामा दोषी ठहर भएका मनाङेलाई २०६९ साउन २८ मा तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय एकराज आचार्य र रामचन्द्र यादवको इजलाशले ५ वर्ष जेल सजायको फैसला सुनाएको थियो। सर्वोच्चले सोही फैसलालाई सदर गरेपछि मनाङे पुनः जेल बस्नुपर्ने भएको हो।
१३ वर्ष अघि काठमाडौंका अर्का गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) लाई खुँडा र तरवार हानेर हात छिनाएको अभियोगमा यो फैसला भएको थियो। घटना लगत्तै चक्रेकी श्रीमती इन्दिरा गुरुङले दिएको जाहेरीका आधारमा मनाङे, गणेश लामासहित ५ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो।
उक्त मुद्दामा जिल्ला न्यायाधीश नारायाणप्रसाल दाहालले मनाङेलाई दुई वर्ष जेल सजाय र अन्य प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएका थिए। जिल्ला अदालतले अदालती बन्दोवस्तीको महल अन्तर्गत कुटपिटको ६ नम्बर बमोजिम २ वर्ष कैद हुने फैसला २०६३ माघ ७ मा सुनाएको थियो।
गुरुङको किटानी जाहेरीमा मनाङे, गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई अनुसन्धान गरी कारबाहीको माग गरिएको थियो। २०६१ वैशाख ३१ मा मिलन चक्रे साथीहरु काजी शेर्पा, यादव डंगोल, विनय शाक्यसहित महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा खाना खाँदै गरेको अवस्थामा मनाङेसहितको समूहले हतियार प्रहार गरी बाँया हात छिनालिदिएको उल्लेख थियो। घाँटीमा हानेको तरवार हातमा लाग्दा मिलन चक्रेको हात छिनेको थियो।
जिल्ला अदालतको मुद्दामा रेवत कार्कीले उक्त प्रकरणमा आफू नभएको बयान दिएका थिए। उमेश लामाले आफू नभई गणेश लामा र रमेश सुनुवार संलग्न भएको हुनसक्ने बयान दिएका थिए। गणेश लामा र रमेश सुनुवारले पनि अदालतको बयानमा आफू संलग्न नभएको भनी इन्कारी गरेका थिए।
मनाङेले पनि उक्त प्रकरणमा इन्कारी बयान नै दिएका थिए। तर, उक्त होटलमा प्रत्यक्षदर्शी रहेका व्यक्तिले सनाखत गर्दै मनाङेले नै प्रहार गरेको बताएपछि जिल्ला अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो। मनाङेले त्यहीबेला २ वर्ष जेल सजाय काटेका थिए। जिल्लाको फैसला विरुद्ध सरकारले २०६४ फागुन २८ मा पुनरावेदन गरेको थियो। उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ मा फैसला सुनाउँदै मनाङेलाई थप ३ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।
पुनरावेदनको उक्त फैसलापछि सरकारले मनाङेबाहेक अन्यको हकमा सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो। सो मुद्दामा सर्वोच्चले पुनरावेदन अदालत पाटनकै फैसला सदर गरिदिएपछि मनाङेले थप ३ वर्ष जेल बस्नुपर्ने भएको हो भने घटनामा मुछिएका गणेश लामासहितका अन्य ४ जनाले सफाइ पाएका हुन्।
यस्तो थियो पुनरावेदन अदालत पाटनको फैसला










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।