काठमाडौं- सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा भ्रष्टाचारी दोषी ठहर भएका नेपाल प्रहरीको पूर्व आईजिपी रमेशचन्द ठकुरीको निवेदनमा सुनुवाई गर्न अस्वीकार गरेको छ।
२०७६ असार १९ गते धरौटीमा कारागार बाहिर बसेर मुद्दा लड्न पाउ भन्दै दायर गरेको निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति दिन अस्वीकार गरेको हो।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले ठकुरीको निवेदनमा थप सुनुवाईका लागि अनुमति दिन अस्वीकार गरेको हो।
नेपालको भ्रष्टाचारको मुद्दामा सबैभन्दा ठूलो प्रकरणका रुपमा स्थापित नेपाल प्रहरीको सुडान काण्डका दोषीमध्येका एक पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी एकाएक सर्वोच्च अदालतमा उपस्थित भएका थिए। सुरक्षाकर्मी साथमै लिएर हिँडे पनि नेपाल प्रहरीको ‘फरार’ सूचीमा रहेका थिए।
ठकुरी फौजदारी कार्यविधि संहिताको १३७(२) अनुसार कैद नबसी नै मुद्दा पुनरावलोकन गर्न सकिने व्यवस्थामा टेकेर सर्वोच्च आएका थिए।
१० वर्षभन्दा कम कैद सजायको फैसला भएका व्यक्तिले थुनामा नबसी पुनरावेदन गर्न सक्ने व्यवस्था रहेकाले त्यसैको आडमा उनी सर्वोच्चमा निवेदन सहित पुगेका थिए। उनको निवेदन दर्ता त भयो तर सर्वाेच्चले अदालतको फैसलालाई सहयोग नगरेको भन्दै थुनामा पठाएको थियो। त्यसपछि उनलाई डिल्लीबजार कारागार लगिएको थियो।
चन्दबाहेक अन्य दुई पूर्व महानिरीक्षक पहिले नै थुनामा रहेका छन्।
नेपाल प्रहरीको संयुक्त राष्ट्र संघीय मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान एपिसी खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको सहितको इजलासले उनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।
सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए। सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई एक–एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।