काठमाडौं– नेपाल प्रहरी र नेपाली सेनापछि अर्काे सुरक्षा निकाय सशस्त्र प्रहरी बललाई पनि सरकारले प्रदेश संरचनाअनुसार खटाउने तयारी गरेको छ। एआईजीको कमाण्डमा सशस्त्र प्रहरीलाई प्रदेशमा खटाउने सरकारको तयारी छ।
शुक्रबारको मन्त्रीपरिषद्को बैठकले सशस्त्र प्रहरीमा ५ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेलगत्तै सशस्त्र प्रहरी बलले एआईजी बढुवाको प्रक्रिया सुरु गरिसकेको छ । मंगलबार सशस्त्रले एआईजीका लागि आवेदन मागेको छ। प्रदेशमा खटाउने तयारी स्वरुप दरबन्दी थप गरी एआईजी बढुवा गर्न लागिएको सशस्त्र प्रहरी बलका डिआईजी बाबुराम पाण्डेले बताए। बढुवा भएलगत्तै एआईजीलाई प्रदेशमा खटाउने तयारी छ।
तीन दिनभित्र आवेदन दिन सूचना
सशस्त्रले बढुवाका आकांक्षीहरुलाई तीन दिनभित्र आवेदन दिने सूचना जारी गरेको छ। शैक्षिक प्रमाणपत्रसहित आवेदन दिएपछि बढुवा सिफारीस समितिले त्यसउपर मूल्याङकन गरी बढुवा प्रक्रिया सुरु गर्ने छ।
गृहसचिव मोहनकृष्ण सापकोटा अध्यक्षताको बढुवा सिफारीस समितिको बैठकको सिफारीसका आधारमा सरकारले एआईजी बढुवा गर्ने छ। ५ पदमा १० भन्दा धेरै डिआईजीहरु आकांक्षी छन्।
अब ११ एआईजी
सशस्त्रमा अब ११ जना एआईजी हुनेछन्। जसमध्ये ७ जना प्रदेशमा खटिने छन्। भने बाँकी ४ जना मुख्यालयमा रहने छन्। हाल सशस्त्रमा कार्यविभाग, प्रशासन विभाग, मानवस्रोत विकास विभाग, सीमा सुरक्षा विभाग, एकेडेमी र महानगरीय सशस्त्र प्रहरी कार्यालय एआईजीको कमाण्डमा रहदै चल्दै आएका छन्। अब मुख्यालयमा चार वटा मात्र एआईजी हुने भएकाले मुख्यालयमा मुख्यालयका चार वटा विभागमध्ये दुई वटामा मात्र एआईजी राख्ने सम्भावना छ। मुख्यालयका कुक कुन विभागमा आईजी राख्ने भन्नेमा निर्णय भइनसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी पाण्डेले बताए। ‘यस विषयमा थप छलफल हुन बाँकी नै छ,’ उनले भने।
एआईजी प्रेम शाही संयोजकत्वको एक कमिटीले संघीयतामा सशस्त्रको संरचनाबारे एउटा रिपोर्ट बनाइसकेको छ। तर, त्यसउपर विस्तृत छलफल भइसकेको छैन। विस्तृत खाका नै तयार नपारी सशस्त्रलाई पनि प्रदेश संरचनामा अघि बढाउन लागिएको भन्दै कतिपयले आलोचना समेत गरेका छन्। दरबन्दी हेरफेर र करिअर प्लानिङ एकैपटक बनाउनुपर्ने सशस्त्र प्रहरी अधिकारीको माग थियो। करिअर प्लानिङ नहुँदा सशस्त्रमा इन्सपेक्टरमा भर्ना भएकाहरु एसपीबाटै अवकाश पाउने अवस्था सिर्जना भइसकेको छ।
सशस्त्र केन्द्रीय कमाण्डमा
संघीय संरचनामा पनि सशस्त्र केन्द्रीय कमाण्डमै संचालन हुने छ। केन्द्रमा महानिरीक्षक तथा प्रदेशमा एआईजीकै कमाण्डमा सशस्त्र प्रहरी बल रहने सम्भाजना छ।
यसअघि नेपाल प्रहरीलाई प्रदेश संरचनामा खटाइसकिएको छ। कानुन नबनेपछि सातै प्रदेशमा एआईजीहरुले कमाण्ड गर्दै आएका छन्।
त्यस्तै नेपाली सेनाले पनि प्रदेशअनुसार सातै प्रदेशमा बाहिनी स्थापना गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।