नेपालगन्ज- जाडोबाट जोगिन आगो ताप्ने क्रममा जलेर घाइते हुनेहरुको संख्या बढ्दै गएको छ।
दुई सातादेखि तराईका जिल्लाहरुमा चलेको शीतलहर र जाडोबाट बच्न आगो ताप्ने क्रममा जलेर सुत्केरी, बालबालिका, र वृद्धवृद्धाहरु बढी पीडित हुने गरेका छन्।
पछिल्ला दिनमा नेपालगन्जको भेरी अञ्चल अस्पतालमा दैनिक एक जना जलेका घाइते आउने गरेका छन्। जसका कारण अस्पतालको बर्न वार्ड बिरामीहरुले भरिएको छ। बर्न वार्डका ८ बेड भरिएपछि थप बिरामीलाई अन्य वार्डमा राखेर उपचार गरिएको अस्पतालका निमित्त प्रमुख डा कृष्ण आचार्यले बताए।
जाडो सुरु भएयता उपचारका लागि अस्पताल आएका घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र एक जनाको मृत्यु भएको छ।
जलेर घाइतेहरुको उपचारमा अग्नि हिंसापीडित नेपाल नामक संस्थाले सहयोग गर्दै आएको छ। उनीहरुको आवश्यक औषधि उपचारमा आर्थिक सहयोग गर्दै आएको संस्थाका प्रतिनिधि सुरेन्द्र दीप कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।