बर्दिवास- ‘हजुर, बुझायल जे हमरो सब के याद करवाला कोई अई’ (हामीलाई सम्झने पनि कोही रहेछन्)।
मंगलबार हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले पठाइदिएको न्यानो कम्बल थर्थरी कामेको हातले समाउँदा ७५ वर्षीय चौठी बाँतरको मुखबाट फुटेको वाक्य हो यो। चौठी बाँतर महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारमा बस्छन्।
दुई साता लामो शीतलहरमा पनि चौठीसहित सो दलित बस्तीका ३१ घरपरिवार बाँतरले झुप्रोमा नै दिन कटाएका थिए। आफूहरुलाई दुःखमा सम्झेको भन्दै मंगलबार उनीहरुले धुर्मुस–सुन्तलीको भलो होस् भन्दै आशीर्वाद दिए।
धुर्मुस–सुन्तलीको सौगात लिएर पुगेका सञ्चारकर्मीहरुसँग बस्तीकी ७० वर्षीया लतियादेवी बाँतरले दुखेसो पोखिन्, ‘बौवा, यत्तेक दिन भैगेल, हमसभ केना छि, कोनो देख नई आयल’ (चिसो खेपेको यति दिनबीच हाम्रो अवस्था हेर्न कोही आएनन्)।’
लतियाले चिसो स्याँठमा ओठ कमाउँदै भनिन्,‘धुर्मुस–सुन्तली सबके हँसबै छै, सुन्ने छली, ओ दुनु आई हमार सभके सौगात भेजक हँसाब के काज कैलक।’ (धुर्मुस–सुन्तलीको काम नै मान्छे हँसाउने भन्ने सुनेकी थिएँ, हो रहेछ, आज हामीलाई न्यानो कम्बल कोसेली पठाएर हँसाउन चाहेछन्)।
लतियाले यसो भनिरहँदा भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह र वडाअध्यक्ष अशोककुमार महताले छेउमै बसेर उनका दुःखेसो सुनिरहेका थिए। हाँस्यकलाकार धुर्मुस–सुन्तलीले पठाएको न्यानो कम्बल नगर प्रमुखले सबै स्थानीयलाई बाँडेका थिए।
सो अवसरमा प्रमुख साहले हास्यकलाकार धुर्मुस–सुन्तलीको सहयोग बस्तीका बासिन्दाहरुका लागि साच्चिकै न्यानो बनेको जिकिर गरे। मानविय कार्यमा अग्रसर भएका कलाकारहरुको यो भूमिका वास्तवमै तारिफयोग्य रहेको उनले बताए। उनले भने,‘पर्दाका कलाकारहरु पर्दा बहिरका लागि पनि सच्चा कलाकार नै रहेछन्।’
सो बस्तीमा ३१ घरपरिवारलाई न्यानो कम्बल बितरण गरिएको हो।
मंगलबार नै धुर्मुस–सुन्तलीले बर्दिवास–१ स्थित एकीकृत नमूना मुसहर बस्तीका ५० घरपरिवारलाई पठाएको न्यानो कम्बल पनि वितरण गरिएको छ।
उता नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले मंगलबार नै भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहर बस्तीका ३९ परिवारलाई ओढ्ने कम्बल, न्यानो कोट, जुत्तासहितका सामग्री वितरण गरेको छ।
महोत्तरीलगायत मध्य तराईका जिल्लाहरुमा मध्य पुषपछि लगातारको बाक्लो हुस्सु तथा शीतलहरका कारण विशेषगरि गरिब र दलित बस्तीका बासिन्दाहरु बढी प्रभावित देखिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।