काठमाडौं- सर्वोच्च अदालतले मनाङ प्रदेशसभातर्फ विजयी सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय गर्ने फैसलालाई सदर गरेको छ।
न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) को फैसला सदर गर्ने निर्णय गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार, सरकारी वकिलले दर्ता गरेको पुनरावेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने निर्णय सुनाएको हो।
पुनरावेदन अदालतले ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो भने ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने सफाइ दिएको थियो।
पुनरावेदनले मनाङेबाहेकलाई सफाइ दिएपछि यस विरुद्ध सरकारले ०७० जेठ १० गते पुनरावेदन गरेको थियो।
अन्य प्रतिवादीको हकमा पुनरावेदन दर्ता भए पनि मनाङेले भने हालससम्म पुनरावेदन गरेका छैनन्। सर्वोच्चले पुनरावेदनको निर्णय सदर गर्ने फैसला सुनाएपछि उनी पुरानै आदेश अनुसार स्वत: दोषी ठहर भएका हुन्। मनाङेले पुनरावेदन गरेमा सफाइ पाउने वा ठहर हुने कानुनी बाटो बाँकी नै छ।
जिल्ला अदालत काठमाडौंले मनाङेलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको थियो। तत्कालीन समयमा उनले सो अवधिको सजाय काटिसकेका छन्। सर्वोच्चको फैसलापछि मनाङेले अब तीन वर्ष जेल सजाय भोग्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।