बुटवल- गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा बेपत्ता भएका ३ जनाको शव फेला परेको छ।
यससँगै पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। पहिरोमा बेपत्ता भएकामध्ये ३ जनाको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मीन बहादुर घलेले जानकारी दिए।
वडा-३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता भएका माया विक र उनका छोरा बबी विकको शव फेला परेको हो भने वडा-४ लिम्घामा डेढ वर्षीय बालक सञ्जु विकको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थल ठूलो लुम्पेकमा उद्धारका लागि खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझीका अनुसार माया र बबीको घरको ५० मिटरभन्दा तल शव भेटिएको हो।
लिम्घामा मंगलबार निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमांशु बिक, छलि बिक र सिवानी बिक तथा ठुलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो। लिम्घामा अझै सात वर्षीय बालिका तारा विक बेपत्ता छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।