इलाम- माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माइबेनीमा सोमबारदेखि मेला सुरु भएको छ।
तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ। माइखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माइबेनी मेलामा मकर नुहाउन आउने गरेका छन्।
यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौँ सर्वसाधारण एक सातादेखि नै आइपुगेका छन्।
इलामको नामसालिङ र गोदकबीचमा पर्ने माईबेनीमा लाग्ने यो मेला वर्षौं अघिदेखि लाग्दै आएको छ। माइबेनीबाट इलामबजारतर्फ फर्कँदा दुई घन्टाको पैदल हिँडेर बेनीमार्गबाट राईगाउँ, तिल्केनी हुँदै इलाम बजार आउन सकिन्छ भने माइबेनीसम्म ट्याक्सीको सुविधा पनि छ।
मकर सङ्क्रान्तिका दिन पवित्र नदीमा गएर मकर स्नान गर्ने हिन्दुहरूको धार्मिक प्रचलन भए पनि माइबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको कुरा इलामका अग्रज भीष्म वैद्य बताउँछन्।
वडाहाकिम थापाकी पत्नी बदनकुमारी धर्मकर्मप्रति आस्थावान् भएकी हुनाले काठमाडौँमा माघे सङ्क्रान्तिका बेलामा मकर नुहाउने गर्दथिन्। मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी रानी बदनकुमारीले यहाँ माघे सङ्क्रान्तिका दिन मकर नुहाउन नपाइने भइयो भनी बडाहाकिमसँग विस्मात गरेकी हुनाले बडाहाकिमले आफ्नी पत्नीलाई यहाँ पनि त्रिवेणी छ, नुहाउँदा भइहाल्छ नि, नुहाउँछौ भने म धुमधामसँग मेला लगाइदिन्छु भनेपछि रानीको इच्छानुसार विसं १९२० देखि संस्थागत रूपमा मेला लगाउने सुरुवात भएको बताइन्छ।
पहिलेपहिले ताप्लेजुङदेखि राडीपाखी, राम्रा राम्रा गलैँचा लिएर आउने व्यापारी मेलाबाट फर्कँदा भोटेघोडा बिक्री गरेर जाने गरेको अग्रज पत्रकार धर्म गौतमको भनाइ छ।
भारतको दार्जिलिङ, सिक्किम, आसाम र आसपासका मानिस पनि माइबेनीमा मेला भर्न, मकर नुहाउन र माइखोलामा माई भगवतीको पूजाअर्चना गर्न आउने गरेको र हाल पनि यो क्रम चलिरहेको छ। विगतमा माइबेनी मेला एक महिनासम्म चल्थ्यो, पछि घट्दै गएर १५ दिन र अहिले तीन दिनसम्म मेला लाग्छ।
मेलामा राडीपाखी, गलैँचा, लुगाफाटा, भाडावर्तन, श्रृंगारका सामान, उखु, सुन्तला, तरूलको अत्यधिक बिक्री हुने गरेको छ। मेलास्थलमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी टोली खटाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।