काठमाडौं- 'सबैका लागि योग, सधैंका लागि योग' भन्ने नारासहित आज देशभर राष्ट्रिय योग दिवस मनाइँदैछ।
दिवसका अवसरमा बिहानै काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको अगुवाइमा प्रभातफेरी निकालिएको हो।

हरेक माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने गरी सरकारले २०७२ साउन २८ गते औपचारिक निर्णय गरेको थियो।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो।

विश्व स्वास्थ्य संगठनले आध्यात्मिक विधालाई पनि स्वस्थ जीवनकै आधारको रुपमा स्विकारेपछि योग अभ्यास चिकित्सा विधाको पर्यायको रुपमा रहेको हो। कुनै बेला आधुनिक चिकित्सा र योगलाई फरक धारको रुपमा लिइन्थ्यो भने अहिले नियन्त्रणात्मक, प्रवर्द्धनात्मक र पुनर्स्थापनात्मक एवं उपचारात्मक विधामा पनि आधुनिक चिकित्साले योगलाई स्विकारेको यसका जानकारहरु बताउँछन्।
नेपालभर योग सिकाउने ६ सयभन्दा बढी संस्था रहेका छन्। यी संस्थामा योग अभ्यास गर्न आउने विदेशीहरुको संख्या पनि निकै छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।