राजविराज– दहेज तथा बोक्सीको आरोपमा महिलामाथि हुने हिंसाका घटनाले बेलाबखत चर्चा पाउने सप्तरीमा पुरुषमाथि हुने हिंसाका घटनासमेत बढ्दै गएको एक तथ्यांकले देखाएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रहेको लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांकले पुरुषमाथि पनि लैंगिक हिंसाका घटना भइरहेको देखाएको हो। केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडाका अनुसार विगत ४ महिनाको अवधिमा दर्ता भएका लैंगिक हिंसाका घटनामध्ये ६ जना पीडित पुरुष छन्।
यो अवधिमा जम्मा ६२ घटना दर्ता भएको जानकारी दिँदै सिम्खडाले उनीहरुलाई उपचार लगायतको नि:शुल्क सेवा दिएको बताइन्। उनका अनुसार केन्द्रले सबैभन्दा बढी घरेलु हिंसाबाट पीडित २९ जनालाई सेवा दिइसकेको छ। सिम्खडाका अनुसार शारीरिक चोटपटकका २०, यौनजन्य हिंसाका १०, मानसिक यातनाका एक र बेवारिसे २ जनालाई उपचार लगायतको सेवा उपलब्ध गराइएको छ।
४ महिनाको अवधिमा सबैभन्दा बढी १५ देखि ४९ वर्ष उमेरका ५० जना पीडितले सम्पर्कमा आई सेवा लिएका छन्। १४ वर्षभन्दा कम उमेरका ६ जना, ५० देखि ६५ वर्ष उमेरका ४ जना तथा ६५ वर्षभन्दा माथिका दुई जनाले सेवा पाएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार हिंसा पीडितहरुलाई जाँच, स्वास्थ्योपचार, शारीरिक परीक्षण, मनोविमर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, सुरक्षित गर्भपतन लगायतको सुविधा निःशुल्क दिइएको छ। एउटै पीडितलाई धेरै किसिमको सेवा दिनु परेको जनाउँदै सिम्खडाले उपचार गरिएका पीडितमध्ये ३४ जनाको शारिरीक परिक्षण, ४१ जनाको विधि विज्ञान तथा मेडिकल जाँच, ५१ जनाको घाउ चोटपटक उपचार, २६ जनालाई मनोसामाजिक परामर्श, ९ जनाको गर्भ परिक्षण, ५ जनाको एचआइभी परीक्षण गरिएको बताइन्।
हिंसा पीडितहरुमध्ये ४२ जना प्रहरीको समन्वयमा, १० जना सुरक्षित आश्रय केन्द्रको समन्वयमा र एक जना गैससको समन्वयमा आए पनि ९ जना स्वयं सेवा लिन आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।