काठमााडौँ - थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा आजदेखि टुँडिखेलमा ‘माघी महोत्सव’ शुरु भएको छ।
दुई दिनसम्म चल्ने महोत्सवको भोलि सोमबार अपराह्न १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका सदस्य सीताराम चौधरीले बताए।
महोत्सवको पहिलो दिन थारु सांस्कृतिक कार्यक्रम र रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदानमा ६० जनाले रक्तदान गरेको उनले बताए। महोत्सवमा ११० वटा स्टल राखिएका छन्।
स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तक, थारु समुदायको महिला र पुरुषले लगाउने विभिन्न पहिरनका सामग्री राखिएका छन् । यसैगरी, थारु परिकारमा ढिक्री, अनदीको भात, लाया, घोँघी, सुँगुरको मासु, माछा, सिपी, गँगटा, सिध्रा तथा जाँड राखिएको समितिका सदस्य चौधरीले बताए।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा करिब ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । यसैगरी महोत्सवमा आइतबार टुडीखेलमा सुँगुर काटेर प्रसादको रुपमा वितरण गरिएको माघी मुल आयोजक समितिका सदस्य कानुनलाल चौधरीले बताए।
माघी पर्वमा थारु समुदायले पाप काम नगर्ने भन्दै पुसको अन्तिम दिन आज भने मासु खाने गर्दछन् । माघीको दिन भोलि थारु समुदायले बिहानै कुखुरा बासेपछि सामूहिक रुपमा जलाशयमा गएर स्नान गरी पुर्खाको आशीर्वाद थाप्ने गर्दछन्।
कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघी पर्व धुमधामसँग मनाउने गरिन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।