काठमाडौं–विदेशमा बसेर शृंखलाबद्ध हत्या र असुलीको धन्दा चलाउदै आएका गुन्डा नाइके मनोज पुनका एक सहयोगीलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ।
गत वर्ष वुटवलमा एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रत्यक्ष रुपमा संलग्न तुलबहादुर सिंजाली ‘बाबु’लाई प्रहरीले शनिबार नेपाल ल्याएको हो।
अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगमा उनलाई कतारमा दुई साताअघि स्थानीय प्रहरीले पक्राउ गरेको थियो। इन्टरपोलकै आग्रहमा त्यहाँको अध्यागमनले अपराधमा संलग्न व्यक्ति भएको भन्दै निष्कासन गरेको थियो। जसक्रममा उनलाई प्रहरीले शनिबार नेपाल फर्किएलगत्तै विमानस्थलबाटै पक्राउ गरेको हो।
नेपाल प्रहरीकी इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्य नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई नेपाल ल्याउन इन्टरपोल शाखाले २ महिनादेखि मिहिनेत गर्दै आएको थियो। अभियुक्त सिंजालीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइने प्रहरीले जनाएको छ।
गत वर्ष पुस ४ गते रुपन्देहीको देवहदमा तिवारीको गोली हानी हत्या गरिएको थियो। उक्त घटनामा सिंजालीले मनोज पुनको निर्देशनमा भारतबाट पेस्तोल ल्याएर सुटरहरुलाई दिएका थिए।
घटनापछि फरार भएका उनी भारतबाट कतार पुगेको थाहा पाएपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत कतार प्रहरीलाई पत्राचार गरी पक्राउ गराएको हो। घटनामा संलग्न ८ जना गत वर्ष नै पक्राउ परिसकेका छन्।
फरार रहेका पुनले गत पुस ५ गते देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।