रसुवा– रसुवामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि दक्ष कामदारको अभाव कायमै रहेको छ। सरकारी तथा गैरसरकारी संस्था मार्फत तालिममा निरन्तरता नहुँदा दक्ष कामदारको अभाव भएको हो।
विभिन्न संघसस्थाले जिल्लाभरि तालिम सञ्चालन गरे पनि गाउँमा दक्ष कामदार नहुँदा तराईका जनशक्ति ल्याएर पुनर्निर्माणको काम गरिरहेको कालिका गाउँपालिका २ का विश्वास नेपालीले बताए।
‘गाउँमा खोज्दा कोही मान्छे पाइएन’, उनले भने, ‘घर त बनाउनुपर्यो भनेर तराईतिरबाट कामदार ल्याएर काम लगाइरहेका छौं।’
रसुवामा भूकम्पप्रतिरोधी आवास निर्माणका लागि तालिम लिएका जनशक्तिको अभाव भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत अहिले पनि जिल्लाको विभिन्न स्थानमा तालिम सञ्चालन भइरहेको छ।
दक्ष जनशक्तिको अभाव हुँदै जाँदा जिल्लाको पार्वतीकुण्ड गाउँपालिकास्थित गोल्जुङमा ३० जना डकर्मीका लागि तालिम सञ्चालन भइरहेको बताइएको छ।
भूकम्प गएको ३२ महिनामा रसुवामा करिब १८ प्रतिशत मात्र निजी आवास निर्माण भएको बताइएको छ।
रसुवामा भूकम्पप्रतिरोधी आवास निर्माणका लागि तालिमबाट १ हजार ९ सय ४० सयभन्दा बढी जनशक्ति उत्पादन भएका थिए। तर,स्थानीयले घर निर्माणका लागि डकर्मी खोज्दा नपाएपछि त्यो तालिम नाम मात्रको भएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।