काठमाडौं- सूचना तथा संचार प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हिंसालाई वैधता दिने विप्लव समूहले वार्ताको हल्ला चलाएको बताएका छन्।
प्रचारको लाभ लिन, क्षयीकरण भएको शक्ति आर्जन गर्न र हिंसालाई वैधता दिन ‘हिंसा गर्ने समूह’ले वार्ताको हल्ला चलाउने गरेको उनको भनाइ छ। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हिंसा गर्ने समूहले वार्ता गर्ने कुरा गन्तव्य बिनाको वार्ता र हिंसालाई वैधता गराउने कुराजस्तो मात्रै हुन जान्छ कि जाँदैन?’
वर्तमान परिस्थितिमै विप्लवसँग वार्ता सम्भव नभएको उनको आशय थियो। उनले भने, ‘यति कमजोर धरातलमा उभिएर वार्ता-वार्ता-वार्ता भनेर हुँदैन। के का लागि वार्ता? किन वार्ता? र कसरी ल्यान्डिङ गर्ने हो?’
'उहाँहरुले संविधान काम नलाग्ने, राज्य व्यवस्था काम नलाग्ने भनेर अर्को चिज माग्नु भएको छ,' उनले प्रश्न गरे, ‘के हामी त्यहाँ पुगेको हो?’
विप्लव समूहले बाहिर ल्याएका कुरा अनुचित, गैरजिम्मेवार र असम्भव र आधुनिक दुनियाँ र नेपालले थेग्न नसक्ने माग रहेको उनले बताए।
तर, अनौपचारिक कुराकानी र प्रयास सामान्य रहेको बताउँदै बाहिर आएजस्तो केही नभएको संकेत उनको थियो।
यस्ता समूहले वार्ता दाउपेच र शक्ति सञ्चयका लागि गर्ने गरेकाले सरकार सचेत रहेको बताए। यस्तै अवस्था २०५२ देखि झेलेको उल्लेख गरे। वार्ताअघि पक्राउ परेका विप्लव समूहका नेताहरु रिहा गर्न नसकिने जानकारी दिए।
प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ शान्ति, लोकतन्त्र, संविधान र नागरिअधिकारमा प्रश्न नउठाउने हो भने वार्ता गर्न तयार रहेको बताए। उनले भने, ‘हिंसा त्याज्य हुन्छ। यसमा स्पष्ट भएर आउनुहुन्छ भने हामी कुरा गर्न तयार छौं। तर, हो-हल्ला मच्चाएर प्रचारका लाभ लिने उनीहरुको चक्रमा सरकार फस्दैन।’
उनले हिंसा छाडियो, प्रतिष्पर्धाको राजनीतिमा आइयो, संविधान मानियो भनेर विप्लव समूहले भन्यो भने स्वागत गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।