नेपालगन्ज- बाढी र डुबानका कारण पाँच महिनादेखि घरविहीन भएका बाँकेको राप्ती सोनारी गाउँपालिकाका बाढीपीडितहरुलाई कम्बल र न्यानो कपडा वितरण गरिएको छ।
शीतलहर र कठ्यांग्रिने चिसोमा कम्बल र बालबालिकाका लागि न्यानो कपडाहरु पाएपछि पीडितहरुले केही हदसम्म राहत महसुस गरेका छन्।
त्रिपालमा बस्दै आएका पीडितहरुलाई कम्बल र न्यानो कपडा बाँडिएको हो। चिसोको बेला न्यानो कपडा पाएपछि स्थानीयले राहत महसुस गरेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सेभ दि चिल्ड्रेनको सहयोगमा ८ सय ५३ परिवारका तीन वर्षसम्मका बालबालिकालाई ८ प्रकारका कपडा तथा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको हो।
गत साउन २७ गते आएको बाढीले राप्ती सोनारी गाउँपालिकामा मात्रै करिब ५ हजार परिवार प्रभावित भएका थिए। सरकारले समयमै राहत र पुनर्स्थापनाको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा अझै पनि धेरै परिवार सामुदायिक वनमा टहरा बनाएर कष्टपूर्ण अवस्थामा बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।