काठमाडौं- आगामी माघमा ५० हजार मानिसले एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन्।
विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा कीर्तिमान कायम गर्न माघ २७ गते टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन्। ‘बुद्ध वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन्।
परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए। राष्ट्र, राष्ट्रियता, स्वाभिमान दर्शाउन र नेपालीको जीवनमा महत्वपूर्ण रहेका बुद्ध उपदेश र धम्मपद सस्वर वाचन गर्ने तयारी गरिएको उनले बताए। 'यसअघि कायम रहेको विश्व कीर्तिमान भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयासस्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम गरिन लागेको हो,' उनले भने।
सो कीर्तिमानी अहिले भारतका नाममा दर्ता छ। भारतले सन् २०१४ फेब्रुअरीमा ४६ हजार ६६० मानिसद्वारा १६ औं शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरी कीर्तिमानी राखेको थियो। सो कार्यक्रम सफल बनाउन परिषद्ले नेपाल सरकार र विभिन्न संघसस्थासँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।