राजविराज– शौचालय निर्माणको नाममा आतंकित बनाएको भन्दै सप्तरीमा खुला दिसामुक्त अभियानको प्रतिकार सुरु भएको छ।
शौचालय नबनाएको भन्दै सर्वसाधारणलाई त्रास देखाउने, धम्क्याउने, प्रहरी लगाएर थुन्ने, खाना पकाउने चुलो भत्काउने र गालीगलौज समेत गर्न थालेपछि प्रतिकार गर्नुपरेको विष्णुपुर गाउँपालिका १, खुरहुरीयाका ईश्वरीप्रसाद यादवले बताए।
‘शौच गर्ने सर्वसाधारणको फोटो खिचेर फेसबुकमा हाल्ने र धम्क्याउने गर्थे, सहेरै बसेका थियौं’ यादवले भने, ‘अहिले त चुलो भत्काउने र जुत्ता खोलेर समेत देखाउन थालेपछि हामीसँग प्रतिकार गर्नुको विकल्प भएन।’
प्रतिकारका क्रममा सबल नेपालका कर्मचारी शुभनारायण यादवसहित दुई जनामाथि सामान्य हातपात भएको उनले स्वीकार गरे। सोही आरोपमा वडा प्रहरी कार्यालयले उनका छोरा रमेश यादवलाई नियन्त्रणमा लिएको थियो। तर, गाउँलेको दबावपछि जिल्ला प्रहरी कार्यालय सप्तरी पुर्याएर रमेशलाई छाडिएको छ।
अभियानकर्मीहरुले शौचालयकै विषयमा केही दिनअघि एक साताकी सुत्केरीलाई पनि अभद्र व्यवहार गरेको र बिहीबार आफनै बाबुआमालाई अपशब्द प्रयोग गरेपछि प्रतिकार गर्न बाध्य भएको प्रहरीबाट मुक्त भएपछि रमेशले बताए। सबल नेपालका कर्मचारी यादवले भने आफूमाथि हातपात नभएको र सामान्य विवाद मात्रै भएको बताएका छन्।
यसअघि खुला ठाउँमा पिसाब गरेकै आरोपमा राजविराज नगरपालिकामै १५ किलोको माला र अबीर लगाएर बजार परिक्रमा गराउँदै सर्वसाधारणलाई अपमानित गरिएको थियो। अभियानकर्मीहरुले ‘तपाई फेरि पनि यसैगरी पिसाब गर्नुहोला, हामी फेरि यसैगरी स्वागत गर्छौं’ भन्दै सार्वजनिक रुपमा लज्जित बनाएका थिए।
सन् २०१६ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने पहिलो योजना असफल भएपछि थप गरिएको एक वर्षमा पनि योजना असफल भएको छ। अभियानमा करिब ८ करोड बजेट सकिएको छ।
सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमध्ये हालसम्म १ लाख ९ हजार २ सय ६७ घरधुरीमा मात्रै चर्पी निर्माण भएका छन् भने १० हजार ५ सय २२ घरधुरीमा शौचालय बन्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।